अब फार्मेसीमै औषधिको परीक्षण

हिमाल प्रेस १३ वैशाख २०८१ ८:५६ | Thursday, April 25, 2024
अब फार्मेसीमै औषधिको परीक्षण oplus_2

काठमाडौँ- औषधि पसलले बिक्री गरिरहेको औषधि सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ।

औषधि व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधिको गुणस्तर पत्ता लगाउने छ। यसअघि औषधि व्यवस्था विभागले औषधिको नियमन र अनुगमन मात्र गर्दै आएको थियो।

औषधि पसलमै पुगेर औषधिको परीक्षण गरी सक्कली वा नक्कली भएको पुष्टि गर्न लागिएको यो पहिलो पटक हो। त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘बिक्री भइरहेका औषधि सक्कली वा नक्कली हो भन्ने पसलमै पत्ता लगाइने छ। नक्कली भएको पुष्टि भएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने छ।’

यो नयाँ विधि होइन। भारत, बंगलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ। मंगलबार वीर अस्पतालको फार्मेसीमा यसको परीक्षण गरिएको छ।

उनका अनुसार परीक्षण गर्दा औषधिमा कुनै कैफियत फेला परेन। ‘औषधिको मात्रा ठिक छ छैन, गलत औषधि दिइएको छ कि लगायत पनि परीक्षणका क्रममा अनुगमन गरिने छ,’ उनले भने, ‘अहिलेलाई काठमाडौँबाट यसको सुरुवात गरिए पनि क्रमशः देशव्यापी बनाइने छ।’

नेपालमा नक्कली औषधिको बिगबिगी रहेको अनुमान विभागको छ। औषधिले बिरामी ठिक हुनुको साटो झन् नकारात्मक प्रभाव पार्ने, औषधिको मात्रा घटबढ हुने गरी बिक्रीवितरण गर्ने गरेको पाइएको छ।

‘यस्ता गतिविधि गर्नेलाई तत्काल स्क्रिनिङ गरिने छ,’ विभागका महानिर्देशक ढकालले भने, ‘यसले आम उपभोक्तालाई राहत हुने छ।’

कतिपय उत्पादन मापदण्डविपरीत हुने गरेको छ। उनले त्यसको लागि विभागको मिनी ल्याब प्रविधिले फाइदा हुने बताए। औषधि पसलमा परीक्षण गर्द त्रुटि देखिएमा विभागले प्रयोगशालामा ल्याएर पनि परीक्षण गर्न सक्ने छ।

मिनी ल्याबका लागि छुट्टै मेसिन हुन्छ। केही स्टलमेन्ट राखिएका हुन्छन्। विभिन्न खालका औषधिसम्बन्धी साधन र किट पनि सँगै हुने गर्छ। यस्तो मिनी ल्याबमा परीक्षण गर्न आवश्यक केमिकल पनि हुन्छ।

विभागका महानिर्देशक ढकालले विशेष गरी सीमावर्ती क्षेत्रमा नक्कली औषधिको बिगबिगी हुनाले यसको प्रयोगबाट त्यहाँ भइरहेका बदमासी रोकिने बताए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले विभागले ल्याएको यो विधिले औषधिमा हुँदै आएको बेथितिको अन्त्य हुने बताउए।

प्रकाशित: १३ वैशाख २०८१ ८:५६ | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast