काठमाडौँ- ‘कालो सुन’ भनेर चिनिने नेपाली अलैँची भारतीय ब्रान्डबाट विश्व बजारमा व्यापार हुँदै आएको छ। यहाँ उत्पादित अलैँचीले नेपाली उत्पादनको पहिचान बनाउन नसक्दा भारतले आयात गरेकै भरमा नेपाली अलैँचीलाई आफ्नो ब्रान्डमा व्यापार गरिरहेको हो।
अलैँची पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत हो। नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो। पूर्वी नेपालमा उत्पादन भएको अलैँची झापाको बिर्तामोड हुँदै भारततर्फ निर्यात हुन्छ।
भारतले नेपाली अलैँची आयात गरेर आफ्नै ब्रान्ड र प्याकेजिङमा बजारीकरण गरिरहेको व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए। ‘नेपालबाट भारत निर्यात भएको अलैँची भारतीय ब्रान्डमा व्यापार हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान हुन पाएको छैन’, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई भन्छन्।
भारतले नेपालबाट लगेको अलैँची अमेरिका, युरोप, कतार साउदी, यूएई, बंगलादेश र पाकिस्तान निर्यात गर्दै आएको छ। व्यवसायीका अनुसार साउदी, कतार, यूएई अलैँचीको प्रमुख आयातकर्ता देश हुन्।
अध्यक्ष भट्टराईले नेपाली अलैँची भारतबाट इलमी, हिमाली, दार्जिलिङ, गोर्खाली र भारत ब्रान्डबाट विश्वका ७१ वटाभन्दा बढी देशमा व्यापार भइरहेको बताए। कृषि विभागको अध्ययन पनि नेपाली अलैँची ७१ वटा देशमा पुग्ने गरेको छ।
नेपाल सरकारले भारतबाहेक अन्य देशमा निर्यातका लागि प्रशोधन, प्याकेजिङ र व्यावसायिक सहजीकरणमा ध्यान नदिएको व्यवसायीहरू बताउँछन्। सरकारी अधिकारीहरू पनि नेपाली अलैँची भारतीय ब्रान्डमा विदेशी बजारमा व्यापार भइरहेको स्वीकार गर्छन्। तेस्रो देशमा व्यापारको प्रयास भइरहेको उनीहरूको ‘रेडिमेड’ जबाफ छ। विभागका प्रवक्ता डा. अरुण काफ्लेले नेपालबाट तेस्रो देशमा अलैँची व्यापारको प्रयास भइरहेको बताए।
नेपाली ब्रान्डमा व्यापार गर्न नसक्नुमा सरकारकै कमजोरी रहेको काफ्लेको स्वीकारोक्ति छ। ‘पछिल्लो समयमा नेपाली अलैँची सीधै विदेशी बजारमा व्यापार गर्ने विषयमा छलफल भइरहेको छ। केही देशले नेपाली अलैँची नेपालबाटै व्यापार गर्न चासो देखाएका छन्’, काफ्लेले भने। निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले २०७३ सालमा ‘एभरेस्ट बिग कार्डिमम’ नामक ट्रेडमार्क जारी गरेको छ। ट्रेडमार्कअनुसार अलैँची व्यापार नभएको महासंघले जनाएको छ।
पूर्वी पहाडी जिल्लामा करिब एक लाख २५ हजार परिवार अलैँचीखेतीमा संलग्न रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ। ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा र भोजपुर बढी अलैँची उत्पादन हुने जिल्ला हुन्। पश्चिम नेपालका लमजुङ, गोरखासहित देशका २२ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ।
भन्सार विभागका अनुसार नेपालबाट निर्यात हुने कृषि उत्पादनमा अलैँचीको ठूलो हिस्सा छ। विदेशी बजारमा मसलाको परिकार, बेकरी सामग्री, सुगन्धित तेल र रक्सी उत्पादनमा अलैँची प्रयोग हुन्छ।
निर्यात प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म पाँच अर्ब १७ करोड ४५ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही वर्षको तुलनामा ६८ करोड ९९ लाख रुपैयाँले कम हो। चालु आर्थिक वर्षको ८ महिनामा ३५ लाख ४५ हजार ४ सय ८० किलोग्राम अलैँची निर्यात भएको भन्सार विभागको तथ्यांक छ। आर्थिक वर्ष ०७९/८० मा काँकडभिट्टा नाकाबाट दुई लाख बोरा अलैँची भारत निर्यात भएको थियो।
आर्थिक वर्ष ०७८/०७९ मा १६ हजार ५६२ हेक्टर जमिनमा नौ हजार पाँच सय ४५ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि विभागको तथ्यांक छ। आव ०७७/०७८ मा १८ हजार दुई सय ७३ हेक्टर जमिनमा अलैँची खेती भएको थियो। उक्त आवमा सात हजार नौ सय ५४ टन अलैँची उत्पादन भएको थियो।
नेपालमा वार्षिक सात हजार टन अलैँची उत्पादनमा हुने गरेको कृषि विभागको तथ्यांक छ। नेपालमा १० हजार टनभन्दा बढी अलैँची उत्पादन गर्न सकिने महासंघका अध्यक्ष भट्टराईको दाबी छ। उनले भने, ‘आधुनिक प्रविधि अपनाएर अलैँची खेती गर्न सकिएको छैन। आधुनिक प्रविधि अपनाएर खेती गर्न सकियो भने वार्षिक १० हजार टन अलैँची उत्पादन गर्न सकिन्छ।’ नेपालबाहेक चीन, भारत, भुटान र इन्डोनेसिया अलैँची उत्पादन गर्ने देश हुन्।
आठ प्रजातिका अलैँची उत्पादन
कृषि विभागका अनुसार नेपालमा लसुने, साउने, रामशाही, डम्बरशाही, साउने, डेंजुगोल्से, सेरेम्ना, राङमाङलगात ८ प्रजातिका अलैँची उत्पादन हुन्छ। अलैँची समुद्री सतहबाट ७ सयदेखि २३ सय मिटरसम्मको उचाइमा उत्पादन हुन्छ। अलैँची उत्पादनका लागि ७ देखि २० डिग्री सेल्सियस तापक्रम र वार्षिक १५ सयदेखि ५ हजार मिलिमिटरसम्म वर्षा आवश्यक पर्छ।
किसानले बेचेपछि भाउ बढ्यो
यति बेला अलैँचीको मूल्य प्रतिमन (४० केजी) को ८३ हजार रुपैयाँमा बिक्री भइरहेको छ। झापाको बिर्तामोडमा मंगलबार प्रतिमन ८३ र पाँचथरमा ८२ हजार रुपैयाँमा अलैँची व्यापार भएको अलैँची व्यवसायी महासंघले जनाएको छ। अलैँचीको सिजन सकिँदै गएपछि भाउ बढेको हो।
माघमा प्रतिमन ८१ हजार हजा पुगेको अलैँचीको मूल्य फागुन पहिलो साता ७४ हजार रुपैयाँमा झरेको थियो। फागुन तेस्रो सातादेखि अलैँचीको मूल्य बढ्न थालेको महासंघका अध्यक्ष भट्टराईले बताए।
यसपटक किसानले बिक्री गरिसकेपछि अलैँचीको भाउ उच्च बिन्दुमा पुगेको पाँचथरका अलैँची उत्पादक किसान टेकथान न्यौपानेले बताए। किसानले आफ्नो उत्पादन भदौदेखि माघ महिनाभित्रै बिक्री गरेका थिए। चैतमा मूल्य बढेपछि व्यापारीलाई मात्रै फाइदा भएको न्यौपाने बताउँछन्।