काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आदर्श हो मार्क्सवाद र लेनिनवाद। ओलीका मात्रै होइनन् संसारभरका वामपन्थीहरूका गुरु नै हुन् मार्क्स। उनीहरू समाज, राजनीति, कलासाहित्य, विज्ञान आदिको व्याख्या गर्नुपर्दा उनै मार्क्सलाई अघि सार्छन्। कोही यस्ता विषयमा लेनिनले के भनेका छन् भनेर किताब पल्टाउन थाल्छन्।
अझ केही वामपन्थीचाहिँ माओत्सेतुङको ‘एनान भाषण’ मा दिएको अभिव्यक्तिलाई आधार बनाएर व्याख्यान दिन कस्सिन्छन्। लेनिनको ‘पार्टी संगठन र पार्टी साहित्य’ जस्ता आलेखहरूलाई आधार बनाउन तम्सने पनि धेरै छन्।
यी राजनीतिक विचारक मात्रै होइनन्, प्लेखानोभ, लुनाचार्स्की , म्याक्सिम गोर्की, जर्ज लुकास, राल्फ फक्स, क्रिस्टोफर कड्वेल, हावर्ड फास्ट, लुस्युन, मेनेजर पाण्डेजस्ता स्रष्टा र द्रष्टाले कलासाहित्यमा कसरी मार्क्सवाद प्रयोग भएको छ भनेर गहन अध्ययन गरेका छन्। यी सबैको अध्ययनको निचोड हो, मार्क्सवादी कलासाहित्य सामन्तवाद, पुँजीवाद र साम्राज्यवादजस्ता शोषणमूलक व्यवस्थाको विरोधमा उत्रन्छ र द्वन्द्वात्मक भौतिकवादी जीवन दर्शनमा आश्रित हुन्छ। अनि नेपालका वाम बुद्धिजीवीहरूको आधारभूमि पनि यही हो।
प्रसंग केपी शर्मा ओलीकै। एमाले अध्यक्ष ओलीले कलासाहित्यसम्बन्धी आफ्ना धारणा विभिन्न मञ्चमा व्यक्त गर्दै आएका छन्। उनको पार्टीको दस्ताबेजमा पनि पढ्न पाइन्छ।
अब लागौँ ओलीले बुझेको फिल्म र कलातर्फ। पाँच दशकभन्दा बढी कम्युनिस्ट पार्टीमा संलग्न भएर सर्वोच्च पदमा पुगेका ओलीले फिल्म र कलासाहित्यबारे खुलेर आफ्ना अभिव्यक्ति दिएका छन्।
लाग्न सक्छ, ओलीको कलासाहित्यसम्बन्धी मान्यतामा उनै मार्क्स, लेनिन वा भौतिकवादको व्याख्यान त दिए होलान्। यस्तो लाग्नु स्वाभाविकै पनि हो। कलासाहित्यसम्बन्धी दृष्टिकोणबारे महानायक राजेश हमालले अध्यक्ष ओलीसँग सबालजबाफ गरेका छन्। ओलीको उत्तरमा मार्क्सवाद, भौतिकवादको चर्चा त्यति पाइँदैन, जति अरू मार्क्सवादीहरूले भन्दै आएका छन्।
नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल(निफ)को सातौँ संस्करण उपत्यकामा चलिरहेको छ। शुक्रबार निफको दोस्रो दिन। एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद’ विषयमा छलफल भएको हो। हमालले ओलीलाई कलाको परिभाषादेखि फिल्म र केही राजनीति अनि सामाजिक परिवेशसँग सम्बन्धित विषयमा प्रश्न राखे।
पूर्वप्रधानमन्त्री ओलीले पनि हमालको हरेक प्रश्नको स्पष्ट उत्तर दिए। जीवन नै कलासँग सम्बन्धित छ भन्ने विश्वास ओली छ। उनको बुझाइमा मानिसले जे प्रगति गर्छ त्यो नै एक प्रकारको कला हो।
‘जीवन जिउने क्रममा मानिसले जे सिक्छ त्यो नै कला हो’, ओलीले भने, ‘मानव सभ्यताको विकाससँगै सिकार खेल्ने, खेती गर्ने तरिका, जंगली जनावरसँग मित्रता गाँसेर घरपालुवा बनाउने तरिकालगायत जीवन जिउने, बाँच्नका लागि गर्नुपर्ने सबै मानवीय काम कला हो।’
जैविक प्रवृत्तिसँग बाँच्ने चाहना र इच्छाबाट कलाको सुरु हुने ओलीको बुझाइ छ। उनी भन्छन् ‘जैविक प्रवृत्तिसँग बाँच्ने चाहना र इच्छाबाट कलाको सुरु हुन्छ र त्यसलाई जीवनका सुख, मनोरञ्जन र आनन्द विकास गर्नेसँग जोडिन्छ।’ मानिसजस्तो सचेत प्राणीको जीवनका लागि अत्यन्त कला अति महत्त्वपूर्ण रहेको ओलीले बताए।
महानायक हमालले कलाको कान्छो विधा फिल्मलाई हेर्ने दृष्टिकोणबारे बताउन आग्रह ओलीसँग गरे।
ओलीले वस्तुलाई सुन्दर ढंगले प्रस्तुत गर्ने माध्यमका रूपमा फिल्मलाई लिएको बताए। ‘मानिसले कलासाहित्यको विकास गरेपछि मात्रै संस्कृतिको विकास भएको छ। त्यसैकारण कलासाहित्य र संगीत विभिन्न विधामा जोडिएर आएको छ’, उनले भने। ओलीको परिभाषाअनुसार मानव जीवनका विभिन्न पक्षको सुन्दर प्रस्तुत्ति फिल्म हो भने जीवनलाई आवश्यक पर्ने चिजहरुको सुन्दर प्रस्तुति कला हो।
हमालले मूर्तिकला, हस्तकला, ललितकला, काष्ठकला आदिको अवलोकन, सोच र आवरणमा पारेको प्रभावबारे बताउन आग्रह गरेपछि ओलीले भने, ‘मानव जीवनका विभिन्न पक्ष, अवस्था र परिस्थितिअनुसार नै कलाको विकास भइरहन्छ।’ प्रकृतिका विभिन्न मौसमलाई कसरी झेल्ने भन्ने कुरा हामीले पहिल्यै बुझ्नुपर्ने ओलीको धारणा छ। ‘पीडा आइरहन्छन् हामी जीवनमा जे नहोस् भन्छाैँ त्यही भैराखेको हुन्छ। यो संसार गतिशील छ’, ओलीले भने।
ओलीलाई जीवन दु:खपूर्ण छ भन्ने लाग्दैन। उनी भन्छन्, ‘जीवन मृत्यु र कठिनाइ, आराम र व्यायाम, जागरण र निद्रा, चेतना र अचेतना, जानेका र नजानेका कुरा सँगसँगै हिँडिरहेको हुन्छ। आधारभूत कुरा त हामीलाई जीवन चाहिन्छ र बाँच्नुपर्छ।’
फिल्म र नाटक नहेर्ने, कविता मुक्तक नलख्ने र नसुन्नेहरु पनि बाँचिरहेको औँल्याउँदै ओलीले बाँच्नुमात्र जीवन नभएको अर्थ लगाए। जनावरले जस्तो जीवन त जसले नि जिउन सक्छ भन्दै ओली भन्छन्, ‘बाँच्नका लागि कला चाहिन्छ। मानव जीवन फरक छ। जीवनलाई अर्थपूर्ण र खुसीयाली ढंगले बाँच्नुपर्छ भन्ने अर्थ राख्छ त्यसैले कला संस्कृति, नृत्य, संगीत, वाद्यवादन आदिले मानिसलाई हर्षित बनाउँछ।’
कलासाहित्य, फिल्मलाई अनावश्यक कुरा हो भन्ने जमात पनि छ तर यो भनाइप्रति ओली असहमत छन्। ‘यो अलि बूढो मान्छेले लेखे, बोलेजस्तो छ’, ठट्ट्यौली गर्दै उनी भन्छन्, ‘म कलालाई आवश्यक ठान्छु किनभने हामी भातलाई जीवन ठान्दैनौँ तर जनावरले घाँसपानीलाई जीवन ठान्छ।’
उनले एउटा युवा र एउटी आमाको उदाहरण दिएर यसबारे प्रस्ट् पारे। ‘एउटा युवाअवस्थाको मान्छेले दालभातमात्र जीवन हो नभनेर उसले त्यसमा प्रेमलाई पनि जोडिरहेको हुन्छ। एउटी आमाले दाल भातमात्र जीवन हो भन्ने ठान्दिनन्। आफ्नो सन्तानप्रतिको स्नेह, माया, ममता र मुस्कानमा उसले जे पाउँछ त्यो संसारमा सबैभन्दा किमतीको चिज ठान्छिन्। उसको मुस्कानले न्यानोपन दिँदैन होला तर त्यसको छुट्टै आनन्द छ। जाडो गर्मी, भोक, प्यास, सबै बिर्सिन्छ।’
सास फेर्नुमात्र जीवन भएको भन्दै ओली जिन्दगी बाँच्नका लागि कला रहेको बताउँछन्। ‘सास त वनस्पतिले पनि फेर्छ। मानवीय जीवन प्रकृतिजस्तो रमाइलो छ। गतिशील पनि हामी त्यस्तै बाँच्न चाहन्छाँै। त्यसका लागि आर्ट अफ लिभिङ (बाँच्नका लागि कला) भन्ने छ।’
मानव जीवन कसरी बाँच्ने भन्ने कला समाज चलाउने पनि कला नै भएको ओलीको धरणा छ। अहिले मानिस आफ्नै लागि काम गरिहेका छन्। त्यो क्षणिक भएको ओलीले बताउँछन्। हामीले अरूका लागि काम गर्नुपर्ने बताउँछन् ओली। ‘गोपिनी नभई कृष्णले बाँसुरी बजाउँथे त?’ ओलीको प्रश्न छ।
कलाकारितामा भावनाका कुरा बढी आउँछन् राजनीतिमा चाहिँ भावनाको कुरा आउँछ कि बौद्धिकताको? महानायकको यो प्रश्नमा ओली कला र जीवन फरक रहेको स्पष्ट पार्छन्।
उनी भन्छन् ‘जीवन र समाज यथार्थ हो। अवस्था जे छ त्यो पनि यथार्थ हो। कला परिकल्पना, कथा र अभिनय हो। जीवन अभिनय गरेर चल्दैन। फिल्ममा नखाए पनि अघाएको जस्तो, प्रेम नभए पनि भएको, नलडे पनि लडेको, घाइने नभए पनि भएको, नमरे पनि मरेको जस्तो अभिनय हुन्छ तर जीवन अनि राजनीतिमा त त्यस्तो हुन्न नि।’
कलाको सुरुवात नै झुटको खेतीबाट हुन्छ भन्ने भनाइप्रति पनि ओलीको फरक तर्क छ। उनी फिल्मलाई कथा र अभिनय भन्न रुचाउँछन्। कलाको सबल पक्ष उसले गरेको अभिनयका आधारमा प्रभावित भएर रसमा परिणत हुनु पनि हो।
‘महाभारत’ लाई उदाहरण दिँदै ओली भन्छन् ‘त्यो एउटा ‘महाकाव्य’ हो। कथा हो, मान्छे यस्तो गरेर भक्तिमार्गमा बसिरहेको हुन्छ, त्यतिबेला भगवत्गीता सुनिरहेको हुन्छ, तपाईँले कथा सुन्दै हुनुहुन्छ भनेर वाचकले भनिरहेका छन्, पण्डितले कथा भन्दा पनि मैले म प्रत्यक्ष भगवान् ठानिरहेको छु।’
मान्छेले कला हेरेर मनमा छुट्टै आकृति बनाउने ओली बताउँछन्। ‘मानिसहरू कृष्णको कल्पना गर्ने, युधिष्ठर, धृतराष्टलगायत पात्रको परिकल्पना गर्थे। अहिले त हिन्दी फिल्म र टेलिसिरियलले चित्र देखाइसक्यो’, उनले भने।
कलालाई झुट भन्न नहुने र यसलाई परिकल्पना मान्न सकिने ओलीको तर्क छ। ओलीले भने, ‘फिल्म कथा हो, परिकल्पना हो र यसलाई झुट भन्न मिल्दैन।’
समाज पनि कुनै न कुनै कथाकै आधारमा बनेको छ। मानवीय धरातलसँगै धार्मिक, राजनीतिक, सामाजिकलगायतका विभिन्न संगठनमाथि कथा नै छ। ओली भन्छन्, ‘मान्छे यस्तो सर्जक, रचनाकार र परिकल्पनाकार हो ऊ आफैँले केही चिज बनाउँछ र आफैँ त्यसलाई भगवान् बनाउन तत्पर हुन्छ।’
ओली नेपाली फिल्मको कथा र शैली मानवीय मानिस कथाको होइन जीवनको हुनुपर्ने तर्क गर्छन्। महानायक हमाल प्रश्न गर्छन्, ‘जीवन सञ्चालन गर्न पनि त त्यसमा एउटा कथा छ होइन् र? ओली जवाफ दिन्छन्, ‘कथा मान्छेले बनाएको हो, फिल्मको नयाँ कथा किन नबनाउने, न्यायको कथा किन नबनाउने? कथा न्यायपूर्ण र यथार्थ हुनुपर्छ। अधिकार र अवसरमा प्रतिस्पर्धा गरिनुपर्छ।’
मानव सभ्यता र समाज भोलिवादले बितिरहने हो कि भन्ने प्रश्नमा ओली भन्छन्, ‘हामीले आजबाट सुरु गर्नुपर्छ, हिजोबाट थाल्न सम्भव थिएन। विगतमा जसरी कृषि पशुपालन, औद्योगीकरण र राइट्स ब्रदरले प्लेन बनाउन सम्भव भयो अब त्यसरी नै युवा जागरुक हुनुपर्छ, देशमै केही गर्न सकिन्छ भन्ने आत्मबल हुनुपर्छ।’
एमाले अध्यक्ष ओली मौका मिलेका बेला देशभक्ति, चेतना, जागरण र मनोरञ्जनात्मकले भरिपूर्ण किसिमको फिल्म हेर्छन्। ‘सबै फिल्मको आफ्नै विशेषता हुन्छ। देश बचाउने, मानसिक, भौतिक, बौद्धिक र भावनात्मक फिल्मलाई उत्कृष्ट मान्छु। मौका मिलेको समयमा हेर्छु पनि’, उनले भने।