गृहमन्त्री र आईजीपीको गोप्य बैठकमा के भयो कुराकानी?

हिमाल प्रेस १ चैत २०८० १८:२२ | Thursday, March 14, 2024
गृहमन्त्री र आईजीपीको गोप्य बैठकमा के भयो कुराकानी?

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरबीच गोप्य छलफल भएको छ। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि यसको कार्यान्वयनबारे लामिछानेले कुँवरसँग छलफल गरेका हुन्।

यसअघि आयोगले बिहीबार नै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझेपछि केहीबेर कार्यकक्षमा ढोका लगाएर एक्लै अध्ययन गरेपछि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। उनले त्यहाँ प्रतिवेदनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदनबारे ब्रिफिङ गरेर निस्किएका लामिछानेले गृह मन्त्रालय पुगेर आईजीपी कुँवरलाई आफ्नै कार्यकक्षमा बोलाएका थिए। केहीबेर छलफल गरेर कुँवर निस्किएका थिए।

प्रधानमन्त्रीसँग छलफल गरेर आईजीपीलाई बोलाएका गृहमन्त्रीले सुन तस्करीका सम्बन्धमा प्रतिवेदनमा उल्लेख भएअनुसार कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ। ‘आज प्रतिवेदन बुझाइएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गरी गृहमन्त्रीले आईजीपीसँग कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ,’ प्रहरीका एक उच्चअधिकारीले भने।

गृहमन्त्रीलाई आयोगका अध्यक्ष डिल्लीराज आचार्यले ४८५ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका हुन्। आयोगले विभिन्न ६८ व्यक्तिको बयान, भन्सार नाकाको स्थलगत निरीक्षण र अनुगमन, ६० बढी विज्ञसँगको छलफल र परामर्शपछि प्रतिवेदन तयार पारी बुझाएको आचार्यले बताए। उनका अनुसार प्रतिवेदनमा सुन तस्करीमा संलग्न देखिएकाहरूलाई मुद्दा चलाउन, विभागीय कारबाही गर्न, सुन तस्करीमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न भएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने विवरण उल्लेख छ। प्रतिवेदनमा आरोप लागेका तर निर्दोष भएका व्यक्तिको नाम पनि समावेश गरिएको बताइएको छ।

प्रकाशित: १ चैत २०८० १८:२२ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast