झिमरुकमा निःशुल्क शिक्षाले क्याम्पस पढ्ने बढे

हिमाल प्रेस ३० फागुन २०८० १५:४६
36
SHARES
झिमरुकमा निःशुल्क शिक्षाले क्याम्पस पढ्ने बढे

स्वर्गद्वारी (प्युठान)– झिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ। झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई शिक्षा र भर्ना शुल्कमा छुट दिएपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको क्याम्पसले जनाएको छ।

गत वर्ष क्याम्पसको पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको सङ्ख्या ५३ रहेकामा यस वर्ष वृद्धि भई एक सय ४५ जना पुगेको गौमुखी क्याम्पसका क्याम्पस प्रमुख शेरबहादुर जिसीले जानकारी दिए। झिमरुक गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने नीति तथा कार्यक्रम लिएको थियो। सो कार्यक्रमले क्याम्पसमा स्नातक अध्ययन गर्न विद्यार्थीलाई आकर्षित गरेको क्याम्पस प्रमुख जिसीले बताए।

क्याम्पस प्रमुख जिसीका अनुसार विद्यार्थीले प्रथम वर्षमा रु तीन हजार पाँच सय ५०, दोस्रो र तेस्रो वर्षमा रु तीन हजार र चौथो वर्षमा रु दुई हजार पाँच सय भर्ना शुल्क र मासिक रु आठ सयका दरले शिक्षा शुल्क बुझाउनुपर्दथ्यो।

झिमरुक गाउँपालिकाको सहयोगपछि सो शुल्क पूर्ण रुपमा छुट गरिएको छ। क्याम्पसले भने फर्निचर र व्यवस्थापन भन्दै वार्षिक रु एक हजार लिने गरेको छ। क्याम्पस प्रमुख जिसीले भने, ‘व्यवस्थापन र प्रयोगात्मक परीक्षा शुल्क विद्यार्थीले व्यहोर्नुपर्ने भए पनि भर्ना र शिक्षा शुल्क पूर्णरुपमा छुट हुँदा विद्यार्थी राहत पुगेको छ।’ २०६३ सालमा स्थापित गौमुखी क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्काय अन्तर्गतका विषयमा पढाइ हुन्छ।

क्याम्पसभर जम्मा दुई सय ७० जना विद्यार्थी रहेका छन्। निःशुल्क शिक्षाले महिलालाई उच्च शिक्षाको पहुँचमा ल्याउन थालेको छ। पहिलो वर्षमा भर्ना भएका एक सय ४५ जना विद्यार्थीमध्ये एक सय ३० जना छात्रा रहेको क्याम्पसको तथ्याङ्क छ। प्रथम वर्षको रजिष्टेसन सुरु नभएकाले विद्यार्थी सङ्ख्या अझै वृद्धि भई एक सय ७० जनाको अनुमान गरिएको जिसीको भनाइ छ।

यस वर्षपछि वृद्धि हुन थालेपछि क्याम्पस सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। आयस्रोतविहीन बस्तीमा निःशुल्क पठनपाठनले विद्यार्थीलाई सहज र पहुँच वृद्धि गरिदिएको झिमरुक गाउँपालिका–५ ओखरकोटका स्थानीयवासी दलबहादुर जिसीले बताए। झिमरुक गाउँपालिकाले स्नातक तहमा निःशुल्क शिक्षाका लागि गत आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षत्रीले जानकारी दिए। क्याम्पसलाई बर्सेनि अनुदान दिँदै आइरहेको भए पनि यस वर्षबाट गाउँपालिकाले स्नातकसम्मको शिक्षा निःशुल्क गर्ने योजनाअनुसार बजेट व्यवस्था गरेको उनले बताए।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु २५ लाख र आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख उपलब्ध गराइसकेको छ। विद्यार्थी सङ्ख्याअनुसार थप व्यवस्था मिलाउने गाउँपालिकाको योजना रहेको छ। गौमुखी क्याम्पसमा अध्ययन गर्ने जुनसुकै पालिकाका विद्यार्थीको हकमा निःशुल्क हुने अध्यक्ष महतराको भनाइ छ। रासस

प्रकाशित: ३० फागुन २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =