काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ।
आज साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।
सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उता नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।