काठमाडौँ– हर्मिता श्रेष्ठलाई बाल्यकालदेखि नै चालक बन्ने रुचि थियो। पूर्वको धरानमा जन्मिएकी हर्मिता गाउँमा बस चढ्दा कसरी चलेको होला भनेर कौतूहल लाग्ने गरेको स्मरण गर्छिन्। उनी भन्छिन्, ‘गाडी कसरी चल्छ होला भनेर मनमनै प्रश्न उठ्थ्यो। अनि आफूले पनि यसरी नै चलाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।’ केही वर्ष उनको यस्तो सोचाइ कल्पनामै सीमित भयो।
उनका बाले मारुती भ्यान किनेपछि गाडी चलाउन उत्साह थपिएको हर्मिता बताउँछिन्। अनि सवारीचालक बन्न सहज भयो। उनले त्यही भ्यान चलाउन सिकिन्। केही समयपछि हल्का सवारीचालक अनुमतिपत्र लिइन्। २०५७ सालमा सवारीचालक अनुमतिपत्र पाएपछि गाडी हाँक्न थालेकी हर्मिता यही पेसामा जमेकी छन्। ‘हेभी सवारीचालक महिला’ को पहिचान बनाएकी उनी साझा यातायातको एक्लो महिला चालक हुन्।
हर्मिताले साझा यातायातको बस हाँक्न थालेको ६ वर्ष भयो। त्यसअघि डेढ दशक साना गाडी कुदाएर उनले आफ्नो पेसालाई निरन्तरता दिएकी हुन्। संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ र यूएनडीपी गरी १५ वर्ष गाडी चलाएको अनुभव उनीसँग छ। उनले भनिन्, ‘१० वर्ष युनिसेफ र ५ वर्ष यूएनडीपीको गाडी हाँकेँ। ती संस्थामा काम गर्दा महिलाले पनि चाहेमा जेसुकै काम गर्न सक्छन् भन्ने प्रेरणा मिल्यो।’
उनीसँग साना गाडी हाँकेर देशका विभिन्न ठाउँमा पुगेको अनुभव छ। उनी भन्छिन्, ‘कच्चीपक्की सबै सडकमा गाडी चलाएकी छु।’ सशस्त्र द्वन्द्वका बेला विद्रोहीले आफूले चलाएको गाडी जलाउन खोज्दा उनीहरूलाई यो त बालबालिका र सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरू ओसारपसार गर्ने गाडी हो भनेर जोगाएको उनले सुनाइन्।
काठमाडौँ उपत्यकामा साझाका विद्युतीयसँगै अशोक लेल्यान्ड र टाटाका डिजेल बस गुडिरहेका हुन्छन्। आलोपालो रुटमा उनले तीनै थरीका ठूला बस हाँक्दै आएकी छन्।हर्मिताले भनिन्, ‘वर्षौँदेखि सडकमा कुदाउँदै आएकी थिएँ। ठूलो बसचाहिँ ६ वर्षअगाडिदेखि कुदाउन थालेकी हुँ।’ चालक पेसाबाट जीवन गुजारा गर्दै आएकी उनले दुई सन्तान हुर्काएकी छन्। परिवारमा पनि सबै खुसी रहेको उनी बताउँछिन्।
ठूलो गाडी चलाउन कठिन नभएको उनी बताउँछिन्। यही बस चलाउन थालेपछि उनलाई धेरैले चिन्न थालेका हुन्। अरूबाट प्रशंसा पाएको पनि साझा बस चलाएपछि हो। समाजले सकारात्मक रूपमा लिँदा पेसाप्रति थप गौरव लाग्ने हर्मिताले बताइन्। सुरुसुरुमा ‘ओहो! महिलाले बस चलाएको’ भनेर मानिसहरूले हेर्दा उनलाई अनौठो लाग्थ्यो। यसरी हेर्नु पनि स्वाभाविक भएको उनको बुझाइ छ।
‘मैले बस कुदाएको देख्दा अहिले पनि मानिसहरू अचम्म मानेर हेर्छन्। कतिपयले महिलाले यस्तो काम गर्न आँट गरेको भने प्रोत्साहन पनि गर्छन्। बधाई र धन्यवाद दिँदै छोरी त यस्ती पो जन्मिनुपर्छ भन्ने यात्रु पनि धेरै छन्।’ आफ्ना बारेमा धेरैले चासो लिएको देख्दा महिलाले पनि ठूला सवारीसाधन हाँक्न सक्छन् भन्ने आफू उदाहरण बनेको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘यात्रुले तपाईँ आएको देखेर अघिल्लो बसमा चढेनौँ। तपाईँले बस चलाएको हेर्न मन थियो भन्दै मैले चलाएको बसमा चढ्दा धेरै खुसी लाग्छ।’
काठमाडौँमा टेम्पो चालक महिला बढी देखिन्छन्। मधेशमा पनि अटो चलाउने महिलाको संख्या बढ्दो छ। निजी सवारीसाधन हाँक्ने महिलाको संख्या पनि बाक्लै देखिन्छ। सार्वजनिक यातायातको चालक सिटमा भने महिला विरलै देखिन्छन्। ‘महिलाले अझैसम्म ठूला बस र ट्रक चलाएको त्यत्ति देख्न पाइँदैन। मैले २३ वर्षअगाडि नै गाडी चलाउन हिम्मत गरेकी हुँ’, उनले भनिन्।
हर्मिताको दैनिकी पनि अन्य कामकाजी महिलाको भन्दा भिन्न छैन। गृहिणीले जसरी दिनभर घरको काममा व्यस्त नभए पनि बिहान २ घण्टा र साँझ २ घण्टा घरायसी काममा खटिने गरेको उनले सुनाइन्। उनी सधैँ बिहान पाँच बजे उठ्छिन्। घरको काम सक्छिन्। छोरीलाई स्कुल पठाउन तयार पार्छिन्। ७ बज्दा छोरीलाई स्कुल पुर्याएर साझा यातायातको पुल्चोकस्थित बस ग्यारेजमा पुग्छिन्। गाडी लिएर आफ्नो रुटतर्फ लाग्छिन्। घर फर्कँदा रातिको ८ बज्छ। उनी भन्छिन्, ‘दिनभरि गाडी हाँक्यो। हरेक यात्रुलाई गन्तव्यसम्म छाडिदियो। आफू भने राति हिँडेर घर जानुपर्छ।’
महिलाले केही गर्न सक्दैनन् भन्ने गलत सोचाइ बदल्न जरुरी रहेको उनको सुझाव छ। महिलालाई कमजोर सोच्ने सामाजिक प्रवृत्तिलाई निर्मूल नपारेसम्म अगाडि बढ्न नसकिने हर्मिता बताउँछिन्। उनी भन्छिन्, ‘यो गलत सोचाइ परिवर्तन गर्नुपर्छ। मैले त सुरुवात मात्रै गरेकी हुँ।’ काम सानोठूलो नहुने तर मानिसको सोच सानोठूलो हुने हर्मिताको अनुभव छ।
सवारीचालक क्षेत्रमा आउन चाहने महिलालाई के भन्नुहुन्छ? भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘सबैले आफूलाई मन परेको काम गर्नुपर्छ। अरूले केही भने भनेर हरेस खानु हुँदैन।’
महिलालाई ठूला गाडीको लाइसेन्स लिन भने सजिलो छैन। सोही कारण पनि यो पेसामा महिला हतपत्ति अगाडि नआएको उनले बताइन्। महिलालाई सार्वजनिक सवारीसाधनको चालक बनाउन सरकारले नै प्रोत्साहन गर्नुपर्ने भनाइ हर्मिताको छ।
तपाईँले चालक पेसामा लागेर के पाउनुभयो त? हर्मिताको उत्तर छ, ‘महिलाले पुरुषसरह नै काम गर्न सक्छन् भन्ने देखाएको छु। एक्ली महिला बसचालक भएका कारण पनि यात्रुहरुले राम्रो व्यवहार गर्छन्। यो नै मेरो ठूलो कमाइ हो।’
उनका सहकर्मी चालकहरू सबै पुरुष छन्। साझा बसमा एकजना मात्रै महिला रहेकोमा उनी निराश छैनन्। हर्मिता भन्छिन्, ‘समूहमा गर्ने काम हो। पुरुष चालकसँग काम गर्दा त्यस्तो कठिन भएको छैन।’
ट्राफिक प्रहरीको व्यवहारप्रति उनी सन्तुष्ट छैनन्। उनको बुझाइमा काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरीको व्यवहार मानवीय र व्यावहारिक छैन। ‘बसबाट ज्येष्ठ नागरिक चढ्दा र ओर्लिँदा बढी समय लाग्छ। यस्तो बेला ट्राफिक प्रहरीले दुःख दिन्छन्’, हर्मिताले भनिन्। ठूलो गाडी भएकाले यात्रु ओर्लन र चढ्न समय लाग्छ। ट्राफिकले यस्ता समस्या नबुझिदिने गरेको उनको गुनासो छ। ‘सानो गल्तीमा पनि १५ सय जरिबाना तिराउँछन्। यो पैसा व्यक्तिगत रूपमा गोजीबाट तिर्नुपर्छ’, उनी भन्छिन्। ट्राफिक प्रहरीले चालकलाई लक्षित गरी प्रयोग गरेको अपशब्द सुन्नुपर्दा नरमाइलो लाग्ने गरेको हर्मिता बताउँछिन्।
तस्बिर/भिडिओ : रमेश दवाडी