
मोरङ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिएका छन्।
कांग्रेस मोरङ क्षेत्र नं ४ द्वारा बिहीवार जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजित ‘ नेपाली कांग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उनले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भने।
केन्द्रीय सदस्य कोइरालाले पार्टीमा गुटबन्दीको नभएर विचारको राजनीति गर्नुपर्नेमा जोड दिए। उनले क्षेत्र, जिल्ला र पालिकालाई अधिकार दिन पार्टीको विधान संशोधन गर्नुपर्ने बताए। आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने उनको जोड थियो।
सङ्घीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशील सदस्यहरूको बहुमतका आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै २०८४ को निर्वाचनका निम्ति आजैदेखि लाग्नुपर्नेमा जोड दिए।
कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अबको बाटो चुनौतीपूर्ण रहेकाले जनताका समस्या समाधानमा पार्टी लाग्नु पर्ने सुझाव दिए।
क्षेत्रीय सभापति विनोद बस्नेत र मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टी नेतृत्वले गुटबन्दीलाई दुरुत्साहन गर्नुपर्छ भने। रासस