एमसीसीले सीमापार प्रसारणलाइनको काम अघि बढायो

हिमाल प्रेस २३ फागुन २०८० १८:५५
18
SHARES
एमसीसीले सीमापार प्रसारणलाइनको काम अघि बढायो

काठमाडौँ- अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)–नेपाल सञ्चालक समितिले विद्युत् प्रसारण लाइनको १८ किलोमिटर लामो सीमापार खण्डको काम अगाडि बढाएको छ।

सञ्चालक समितिको फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमिटर लामो प्रसारणलाइन सञ्जालबाट १८ किलोमिटर लामो बुटवल-गोरखपुर खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो।

यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ।

यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्त्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्ने अपेक्षा छ।

नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचनासम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ असोजमा सहमति भएको थियो।

बाँकी २९७ किलोमिटर प्रसारण लाइनका सन्दर्भमा निर्धारित समयावधिभित्रै निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड ढाँचामा निर्माण कम्पनीहरूको सेवा खरिदका लागि एमसीए–नेपालले पुनः काम अगाडि बढाइरहेको छ। यसअघि बोलपत्र माग गर्दा निकै महँगो दर प्रस्ताव भएकाले रद्द गरेर पुनः प्रक्रिया अघि बढाउन लागिएको हो।

अमेरिकी सहायतासम्बन्धी कार्यक्रम एमसीसीअन्तर्गत यी परियोजना अघि बढाइँदै छ। ५ वर्षभित्र निर्माण सक्नुपर्ने भए पनि ७ महिनासम्म परियोजनामा कुनै ठोस प्रगति भएको छैन।

प्रकाशित: २३ फागुन २०८० १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast