 
                            
                                            काठमाडौँ– अँध्यारो मञ्चमा एक हुल मानिस बाँसको लाठी भुइँतिर बजारिरहेका थिए। झडपको जस्तो आवाज पनि आइरहेको थियो। देब्रेतिर बजिरहेको संगीतको धुनले प्रेक्षालयमा छिर्नेबित्तिकै मन एकाग्र बनायो। नेपथ्यमा आवाज चर्किँदै थियो भने यता संगीतको धुन पनि तीव्र गतिमा बढिरह्यो। दाहिनेतिर अग्लो रूख, भुइँमा चारैतिर छरिएको पत्कर र फुस्रो माटो। विद्रोह र प्रतिशोधका संकेत गरिरहेको यो नाटक ‘झोडा’ मञ्चनको पूर्वदृश्य हो।
झोडा अर्थात् पहिलेको चारकोसे झाडी। मान्छे छिर्न नसकिने सखुवाको बाक्लो जंगललाई साहित्यकार गणेश रसिकले उपन्यास ‘आकागंगाको ओतमुनि’ मा झोडाको परिचय दिएका छन्।
‘जंगलमा मान्छे पसेपछि त्यो झोडा। जंगलको सखुवाको छायामा उम्रिएको मकै, तोरी, सनपाट, धानको बोट, उम्रिएपछि त्यो जमिन झोडा’, उनले लेखेका छन्। उपन्यासको केही अंशलाई चेतन आङथुपोले नाटकमार्फत दर्शकमाझ देखाउने परिकल्पना गरे र निर्देशन पनि। सुमन लिङदेनले नाटक अनुवाद गरे। करिब एक वर्षको अन्तरालमा मञ्चनका लागि तयार भयो नाटक ‘झोडा’।
झोडाको इतिहास खोज्ने क्रममा नाटकका परिकल्पनाकार तथा निर्देशक चेतनले पूर्वी मधेशमा बस्ने आदिवासी धिमाल र कुमाल जातिले जंगललाई झार भन्ने गरेको थाहा पाए। ‘धिमाल भाषामा दुई खोलाबीच फैलिएको जंगललाई झोरा भनिँदो रहेछ र त्यही झोरा शब्द अपभ्रंश भएर झोडा बन्न पुगेको कथन छ’, उनले भने।
झोडा आदिवासी जनजातिको बस्ती विस्तारको कथा हो। २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि आफ्नो भूमि स्वामित्व खारेज भएको भन्दै लिम्बुवान क्षेत्रका भूपूसैनिकहरू पञ्चायत शासन व्यवस्थाविरुद्धमा उत्रिए। तत्कालीन शासन व्यवस्थाले मधेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जग्गा आबाद ‘झोडा’ मा खुलाएको थियो। त्यही समयमा पूर्वी पहाडका मानिस जन्मभूमि छोडी मधेश झरे।
नाटकको सुरुवातमा गाउँका केही मानिस झिटीझाम्टासहित मधेश झरिरहेका हुन्छन्। हाँसोठट्टा गर्दै उनीहरू जंगलमा सानो झुप्रो बनाएर बस्छन्। कहिले जंगली जनावरको डर, हुरी र पानीको भेलसँग संघर्षरत जीवन बिताइरहेका छन्। प्रहरी आएर त्यही जंगल फाँडेको निहुँमा पक्राउ पर्छन्, बेपत्ता पारिन्छन्। यता हात्ती आएर त्यही झुप्रो पनि भत्काइदिन्छ।

मधेश झरेपछि सरकारको ऐन, कानुन र राजनीतिक दबाबले ती मानिसले भोग्नुपरेको सास्तीलाई नाटकमा देखाइएको छ। सुख पाइने आशाले मधेश पसेकाहरू सरकार, आफन्त, नातागोताको जालझेलमा परी उल्टै भूमिहीन र सुकुम्बासी बन्न पुगेको दृश्य नाटकमा छ।
६० वर्षअघि पुगेर आफ्नो सपना र अधिकार प्राप्तिका लागि लडेका आदिवासीहरू लडाइँ तथा संघर्षको कथा भनिरहेका पात्रको लवज, पहिरन र अभिनय जीवन्त लाग्छ।
नाटक मञ्चन भइरहँदा शिल्पी थिएटरको बाहिर कलाकारहरूले झोडासँग जोडिएका पीडालाई क्यानभासमा उतारिरहेका छन्। तराई झर्दै गरेको, जग्गा विवाद, संघर्ष, आदिका जीवन्त चित्रले जोकोही पनि आकर्षित हुन्छन्।
नाटकले भने इतिहास खोतल्ने काम गरेको छ। नाटक मञ्चनमा पनि कुनै अन्त्य छैन। शाहकालीन समयदेखि नै आदिवासीहरू आफ्नो पहिचान र अधिकारका लागि संघर्षरत छन् भन्ने देखाउन खोजिएको छ।
नाटकमा सरकार र राजनीतिक दलहरूले भूपूसैनिकहरूलाई झोडाको नाममा कसरी प्रयोग गरे, राजनीतिक चलखेलमा उनीहरूले चुकाएको मूल्य र सुकुमबासी बन्नुपरेको अवस्था र बासस्थानका लागि गरिरहेको संघर्ष समेटिएको छ।
देशमा जमिनसँग जोडिएका संघर्षका थुप्रै गाथा छन्। भूमिसुधारका योजना लागू भएको दशकौँ बित्यो। राजनीतिक व्यवस्था परिवर्तन भए, सरकार परिवर्तन भए। झोडाको समस्या जस्ताको तस्तै रहेको लेखक रसिक जिकिर गर्छन्। उपन्यासमा झोडाको व्यथासहित कुनै बेला भारतको पश्चिम बंगालमा भएको नक्सलवादी आन्दोलन र नेपाल कम्युनिस्ट पार्टीको संघर्ष समेटिएको उनले बताए।
हिजोदेखि आजसम्म पनि आदिवासी जनजाति तथा सीमान्तकृत समुदायले आफ्नो भूमि र स्वामित्व कसरी गुमाइरहेका छन? राज्यबाट कसरी उनीहरूको अधिकार हरण गरिरहेको छ? भन्ने यथार्थलाई नाटकले देखाएको निर्देशक चेतनले बताए।
काठमाडौँ उपत्यकाको सुकुमबासी बस्ती चर्चामा आइरहँदा आफूलाई अव्यवस्थित बसोबासको पृष्ठभूमि खोज्दा झोडाको इतिहासमा पुगेको चेतनले सुनाए। ‘खोज्दै जाँदा बसोबास विस्तारका रहस्य खुल्दै गयो। अन्तिममा भूमि इतिहासतिर पुगेँ र आफ्नो माटोको कथामा नाटक झोडा बनाएँ’, चेतनले नाटक मञ्चनअघिको समय सम्झिए।
‘इतिहासको कुरा आजको पुस्ता, राजनीतिज्ञलाई देखाउनुपर्छ भन्ने लागेर नाटकमा परिणत गरेँ’, चेतन भन्छन्, ‘आजको पुस्तालाई यो गाउँ कसरी बन्यो? ठूला सहर कसरी बने? भन्ने विषयमा कमैलाई थाहा होला। हाम्रो इतिहासका कुरा सबैले बुझ्नुपर्छ।’
नेपाली रंगमञ्चमा माटाको मौलिक कथा छुटेको हो कि भन्ने चेतनलाई लाग्यो। ‘भूमि इतिहासको विषयमा कम लेख, आख्यान र पुस्तक भेटिन्छन्’, उनले भने। यस विषयमा आफूलाई धेरै अघि काम गर्न मन लागेको तर कुनै पुस्तकमा नभेटिएको उनले दुःखेसो पोखे। पछि गणेश रसिकसँगको कुराकानीमा उनकै उपन्यासमा झोडाबारे चर्चा गरेको थाहा पाएपछि नाटक बनाउन पर्याप्त सहयोग मिलेको अभिव्यक्ति चेतनले खुसी हुँदै प्रकट गरे।
फागुन २६ गतेसम्म मञ्चन हुने नाटकमा मनकुमार योङहाङ, रमिला राई (रमिता), उदय बेघा, बोन्पो सन्तोष, मनीष मगर (प्रविन), बबिना राई, मीना नेम्वाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी चेतना आचार्य र बाल कलाकार प्रिन्स तामाङको अभिनय छ।


 
                                              
                                              
                                              
                                              
                                             ![‘एउटा सीमारेखाभित्र बन्धक हुनुपर्ने कस्तो जीवन हो यो?’ [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2024/09/ganesh_rashik.jpeg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 