काठमाडौँ– विज्ञानसम्बन्धी समस्या समाधानमा इच्छुक विद्यार्थीबीच वैज्ञानिक प्रतियोगिता हुने भएको छ। नेपाल यङ फिजिसिस्ट टुर्नामेन्ट शीर्षकमा हुने सो प्रतियोगितामा १० कक्षा वा १२ कक्षा सकेर विश्वविद्यालय भर्ना नभएका नेपाली विद्यार्थी सहभागी हुन पाउनेछन्।
वैज्ञानिक अनुसन्धान प्रक्रिया सिकाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था नेपाल अस्ट्रोनोमिकल सोसाइटीका सुरेश भट्टराईले बताए। उनका अनुसार नागरिकता नभएका विद्यार्थील जन्मदर्ताका आधारमा प्रतियोगितामा भाग लिन पाउनेछन्।
उनले भने, ‘प्रतियोगिताले विद्यार्थीलाई कुनै पनि वैज्ञानिक समस्या समाधानका लागि कस्तो प्राज्ञिक अभ्यास अपनाउनुपर्छ भनेर सिकाउनेछ।’ साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि निखारिन मौका पाउने विश्वास आयोजकको छ।
प्रतियोगिताका विजेताले फिजिक्स फाइटका रूपमा चर्चित अन्तर्राष्ट्रिय ओपलम्पियाडमा भाग लिने अवसर पाउनेछन्। विभिन्न चरणमा हुने प्रतियोगिता मे महिनासम्ममा सम्पन्न हुनेछ।
प्रतियोगितामा सहभागीले प्रतिवेदन लेखक, समीक्षक र निणर्यकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। सहभागीले अन्तिम चरणबाहेकको सबै चरणमा अनलाइनबाटै सहभागिता जनाउन सक्नेछन्। प्रतियोगी नेपाली नागरिक हुनुपर्नेछ। सहभागी हुने चाहने इच्छुक विद्यार्थीले चैत ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिइसक्नुपर्ने भट्टराईले बताए।