काठमाडौँ– रुकुमपश्चिम जिल्लाको आठबिसकोट नगरपालिका–३ का बासिन्दाले बिहे गर्दा विशेष नियम पालना गर्नुपर्ने भएको छ।
आठबिसकोट नगरपालिका–३ को वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा विवाहका लागि दिइने निमन्त्रणा कार्डमा अनिवार्य रूपमा बेहुला–बेहुलीको जन्ममिति उल्लेख गरिनुपर्ने र बिहे समारोहमा जाँडरक्सी र सुर्ती प्रयोग गर्न नपाइने नियम बनाएको हो।
वडाध्यक्ष केशरमान विकले सूचना जारी गरी आफ्नो वडा क्षेत्रलाई मदिरा–सुर्तीमुक्त बनाउन र बालविवाह हुन नदिन त्यस्तो नियम पालना गर्न वडावासीलाई आग्रह गरेका हुन्।
सूचनाअनुसार विवाह निमन्त्रणा कार्डमा अनिवार्य रूपमा बेहुला–बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्नेछ भने विवाह गर्ने घरमा मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने र नगराउने प्रतिबद्धता जनाउनुपर्नेछ। वडा कार्यालयले चेतावनी दिँदै भनेको छ, ‘सो कुरा अवज्ञा गरेको पाइएमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’