वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

हिमाल प्रेस १२ चैत २०८० १९:१९ | Monday, March 25, 2024

काठमाडौँ- पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ। यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन्। जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन्। सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र भोलिदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ।

वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन्। विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सय ७८ ले अनुमति लिएका थिए। यो वर्ष पनि सोही सङ्ख्यामा आरोही आउने विभागको विश्वास छ।

सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले सगरमाथा आरोहणका लागि हालसम्म ३० भन्दा बढी विदेशी आरोहीले बुकिङ्ग गरेको जानकारी दिए। यस्तै इमाजिन ट्रेकमार्फत पनि चिनियाँ र युरोपका आरोहीले बुकिङ गराएको कम्पनीले उल्लेख गरेको छ। हिमाल आरोहणका लागि आरोहीले अनलाइन बुकिङ गर्नसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ। यसले आरोहीलाई सहज हुने विभागको विश्वास छ। रासस

प्रकाशित: १२ चैत २०८० १९:१९ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast