राजेश हमाल र केपी ओलीबीच सिनेमा संवाद हुने

हिमाल प्रेस २७ फागुन २०८० १६:०९ | Sunday, March 10, 2024
राजेश हमाल र केपी ओलीबीच सिनेमा संवाद हुने

काठमाडौँ- अभिनेता राजेश हमालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सिनेमा संवाद हुने भएको छ।

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने सेसनमा अध्यक्ष ओलीसँग अभिनेता हमालले संवाद गर्न लागेका हुन्।

सिनेमा संवाद शीर्षकमा हुने छलफल दोस्रो दिन अर्थात् चैत २ गते शुक्रबार हुनेछ। उक्त संवाद बिहान ११ बजे सुरु भएर दिउँसो १ बजे सकिने आयोजकले जानकारी गराएको छ।

चैत १ गतेदेखि ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुनेछन्।

‘निर्देशक हराएको सूचना’ सत्रमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीले छलफल गर्नेछन्। फिल्ममा लैंगिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा र गायिका आनी छोइङ डोल्माले विमर्श गर्नेछन्। दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुने जनाइएको छ।

छलफल शृंखलाअन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरकाबारे एकल प्रस्तुति दिनेछन् भने फिल्म समीक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन्।

‘सिनेमाका नयाँ बजार र अवसर’ शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङले छलफल गर्नेछन् ।

आनी छोइङको जीवनप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु हुने जनाइएको छ । फेस्टिभलमा ४० देशका ८८ फिल्म देखाइने भएको छ।

प्रकाशित: २७ फागुन २०८० १६:०९ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast