 
                             
                                            काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र सँग–सँगै रहनुपर्ने भन्दै आफूहरूले राजाको कुरा उठायर निरंकुशता नखोजेको बताएका छन्। राजासहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अबधारणा रहेको चर्चा गर्दै थापाले हिन्दू राष्ट्रको विषयले पनि कोही आत्तिनु नपर्ने बताए।
‘सबै धर्मलाई समान व्यवहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुँदैन, हामीले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाव हाम्रो अवधारणा हो’, थापाले भने।
समग्ररुपमा भन्दा अहिलेको व्यवस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट व्यवस्था, भ्रष्ट शासक र फोहरी राजनीतिको अन्त्य आवश्यक भएकोसमेत थापाले औंल्याए। गठबन्धनको परिवर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अवस्था थप कमजोर हुँदै जानेसमेत उनको कथन थियो।
जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो। पार्टी आबद्ध पूर्व प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले पूर्व प्रहरीहरूको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेकोसमेत बताए।
कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरूमा जिल्ला अध्यक्षहरूको जिम्मेवारी तोकिएको जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 