रविप्रति गगनको कटाक्ष : भगवानले ठगे पनि हुने, लुटे पनि हुने?

हिमाल प्रेस १५ चैत २०८० १३:५४ | Thursday, March 28, 2024
रविप्रति गगनको कटाक्ष : भगवानले ठगे पनि हुने, लुटे पनि हुने?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाउँदै कटाक्ष गरेका छन्। संवाद यात्राका लागि नवलपरासी पुगेका थापाले नयाँ भनिएका दलको नेतृत्वलाई भगवानको दर्जा दिएर गलत गर्दा पनि छुट दिनुपर्ने आवाज उठेको भन्दै आपत्ति जनाएका हुन्।

गत २३ माघमा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट थापाले पुन: सुरु गरेका हुन्। १३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको थियो। बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो।

स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए। १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन खोजेको बताएका छन्। पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि रोकिएको संवाद यात्राको नवलपरासीबाट सुरुवात गर्दै महामन्त्री थापाले नयाँ भनिएका दलहरूले पार्टीको नेतृत्वलाई भगवानको दर्जा दिएको कटाक्ष गरे।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै कडा टिप्पणी गरेका थापाले भगवानको पार्टीले जनतालाई लुटे पनि, ठगे पनि हुने भन्दै कटाक्ष गरे। ‘अहिले आएको नयाँ पार्टीमा पनि त्यस्तो छ। अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेतिर लक्षित गर्दै उनले भने, ‘भगवानले ठगे पनि हुने, लुटे पनि हुने।’

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधनपछि स्थगित भएको थियो। दोस्रो चरणको संवाद यात्रामा बिहीबार नवलपरासीका विभिन्न स्थानमा छलफल र जनगुनासो सुन्ने कार्यक्रम रहेको महामन्त्री थापाले बताएका छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका लामिछाने मुछिएको भन्दै छानबिन मागसहित संसदमा अवरोध गर्दै आएको थियो। सहकारी ठगीमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले सदनमा विरोध गरिरहेको छ।

कांग्रेसले लामिछानेले राजीनामा दिनैपर्ने माग गरिरहेको छ। तर बुधबार मात्रै संसदीय समितिमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले लामिछाने सहकारी ठगी प्रकरणमा नमुछिएको स्पष्टीकरण दिएका थिए। लामिछानेले पनि विभिन्न सार्वजनिक मञ्जमा थापामाथि कटाक्ष गर्न थालेका छन्।

प्रकाशित: १५ चैत २०८० १३:५४ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast