प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटना : इन्स्पेक्टरलाई विभागीय कारबाहीको सिफारिस

हिमाल प्रेस ३० फागुन २०८० १९:०३ | Wednesday, March 13, 2024
प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटना : इन्स्पेक्टरलाई विभागीय कारबाहीको सिफारिस सांकेतिक तस्बिर

काठमाडौँ– प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले इन्स्पेक्टरको कमजोरीले गोली चलेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। प्रहरी नायव उपरीक्षक गंगा पौडेल नेतृत्वको समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीलाई छानबिन प्रतिवेदन बुझाएको हो। फागुन ६ गते प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको थियो। सो घटना छानबिन गर्न फागुन ७ गते छानबिन समिति गठन भएको थियो।

गोली लागेर इन्स्पेक्टर श्रेष्ठका बडीगार्ड र एक जना सेवाग्राही सामान्य घाइते भएका थिए। छानबिन समितिले इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। श्रेष्ठले पेस्तोल चेकजाँच गर्दा अचानक पड्किएको समितिमा बयान दिएका छन्। तर, ‘वेपन क्लियरिङ जोन’ मा हतियार चेकजाँच गर्नुपर्नेमा श्रेष्ठले कार्यालयभित्र नै चेकजाँच गरेको हुनाले उनको ‘व्यावसायिकतामा त्रुटि’ देखिएको र उनी कारबाहीको भागीदार भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

समितिले प्रतिवेदन बुझाएको र त्यसबारे अध्ययन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। घटनापछि इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ। प्रतिवेदनको आधारमा उनलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित: ३० फागुन २०८० १९:०३ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast