इलाम- गत वर्षसम्म दुई लाख ५० हजार रुपैयाँ आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख रुपैयाँमात्र आम्दानी दियो।
सुन्तलाको मूल्य घटेर नभइ अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो।
यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार चलाउन त्यति सहज छैन।
‘विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट दुई लाखदेखि दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन’, उनले भने, ‘बल्लतल्ल एक लाख रुपैयाँ आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो।’
व्यावसायिक सुन्तलाखेती गर्दै आएका किसान अधिकारीको बगैँचामा पहिले एक सय ५० बोटसम्म थियो अहिले यो संख्या घटेर ७० मा सीमित छ। रोगको पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन्।
केही बोट मर्न थालेका छन्। बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन। फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उनी बताउँछन्।
सुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो। सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताउँछन्।
रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उनी बताउँछन्।
‘हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ, विज्ञको टोली पनि आउनुभयो’, उनले भने, ‘तर टोलीले स्थलगतरूपमा अनुगमन गरे पनि रोग पत्ता लागेन । के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन।’
रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको उनले सुनाए।
किसान अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ । किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताउँछन्।
वार्षिक दुई लाख रुपैयाँको सुन्तला बेच्ने गर्नुभएका खनालको बगानमा यस वर्ष एक दान पनि सुन्तला नफलेको जानकारी दिए। ‘मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाको बोट थियो, सिजनमा दुई लाख रुपैयाँसम्म आम्दानी दिन्थ्यो’, उनले भने, ‘तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यसपटक बेचिएन।’
व्यावसायिक सुन्तलाखेती गरेका सलकपुरका दर्जनौँ किसानको बगैँचामै बोट मरेको अर्का किसान टार्जन रानामगरले बताउँछन्। विगतका वर्षमा ६० हजार रुपैयाँको सुन्ताला बेच्दै आएका उनले यस वर्ष २० हजार रुपैयाँको मात्र उत्पादन भएको बताउँछन्।
पछिल्लो समय सुन्तलाको बोट मर्ने समस्या बढ्दो क्रममा रहेको उनको भनाइ छ।
मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा रोगले संक्रमण गर्न थालेपछि यहाँका दर्जनौँ किसान वैकल्पिक खेतीको खोजी गर्न बाध्य भएका छन्।
सलकपुरका दुई सय ५० किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएकामा रोगको संक्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तलाखेती गरिरहेका छन्।
कुनैबेला सुन्तालको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले संक्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाइ छ।
मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिकरूपमा सुन्तलाखेती गरिँदै आएको छ। रासस

                                             
                                             
                                             
                                             
                                             
                                             

