 
                             
                                            काठमाडौँ – काठमाडौँमा आन्दोलन गर्दै आएका मिटर ब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्हरू डा.तोसिमा कार्की, डा.चन्दा कार्की लगायतका स्वास्थ्यकर्मीको टोलीले पीडितहरूको स्वास्थ्य परीक्षण गरेको हो।
उनीहरू बस्दै आएको भृकुटीमण्डपमा नै स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य सहायता प्रदान गरिएको हो। मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत गत माघ १६ गतेदेखि मिटर ब्याजविरुद्ध न्याय मार्चसहित काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन्।
उनीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै आन्दोलन गर्दै आएका हुन्। लामो समयदेखि काठमाडौँमा बसेर आन्दोलन गरिरहँदा कतिपय पीडितहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ। उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरूले परीक्षण गराएका हुन्।
पीडितहरू र सरकारबिच वार्ता समेत भइरहेको छ। तर, अहिलेसम्मको वार्ता निष्कर्षमा पुग्न सकेको छैन। उनीहरूसँग वार्ता गर्न गृह मन्त्रालयले फागुन १३ गते सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। पीडितहरूको तर्फबाट समितिका अध्यक्ष अवधेश कुश्वाहको संयोजकत्वमा ९ सदस्यीय वार्ता समिति गठन गरिएको छ।
दुवै टोलीबिच फागुन १३ गतेदेखि वार्ता भइरहेको छ। तर, वार्ता निष्कर्षमा पुग्न सकेको छैन। पीडितहरूले आफ्ना समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठनको माग गर्दै आएका छन्। सरकारी वार्ता टोलीले उक्त मागप्रति असहमति जनाउँदै आएको छ। जसले गर्दा वार्ता निष्कर्षमा पुग्न नसकेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 