जनताको तिरोमाथि रमाइलो गरेर बस्नुको औचित्य छैन : राजेन्द्र लिङ्देन

हिमाल प्रेस १८ फागुन २०८० १३:०० | Friday, March 1, 2024
जनताको तिरोमाथि रमाइलो गरेर बस्नुको औचित्य छैन : राजेन्द्र लिङ्देन प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन। तस्बिर : रासस

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकार आँखा भएर नदेख्ने र कान भएर पनि नसुन्ने भएर बसेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै सांसद लिङ्देनले यस्तो आरोप लगाएका हुन्।

उनले एक महिनाको पैदल यात्रा गरेर काठमाडौँ आएका मिटर ब्याजपीडितको समस्या सम्बोधन गर्नुको सट्टा तिम्रा लागि कानुन बनाइदिएको छ, लौ जाऊ मुद्दा हाल्न भनेर पन्छिएको बताए। यसैगरी लघुवित्तपीडित संसद्‌मै आइपुगेका र दुग्ध किसान सडकमा रहेको विषयमा संसद्‌मा पटकपटक आवाज उठाउँदा पनि सरकारले नसुनेको बताए।

रुसी सेनामा भर्ती भएका नागरिकलाई अन्य देशले फिर्ता ल्याइसकेको प्रसंग सुनाउँदै उनले भने ‘हाम्रो सरकारले उनीहरूलाई फिर्ता ल्याउने पहल गर्नुको कुरा त परै जाओस् उनीहरूका परिवारलाई भेट्ने र सान्त्वना दिन सकेको छैन।’

सांसदहरूले संसद्मा आवाज उठाएर मात्रै बस्ने र कुरा गरेरमात्रै बस्ने कार्यले कुनै पनि समस्या समाधान नहुने उनको भनाइ छ। उनले जनताका मागमा राजनीतिक दल र सरकारले खेलिरहेको भूमिकाबारे पनि प्रश्न गरे।

लिङ्देनले भने, ‘जनता आफैँ सडकमा आउनुपर्ने? पीडित आफैँले न्यायको लागि आत्मदाह गर्नुपर्ने? दलहरूको काम के हो? सरकारको काम के हो? यस्ता विषयमा सरकारले ठोस जबाफ नदिएसम्म, संसद्मा सरकारको उपस्थिति नभएसम्म संसद् चलाइराख्नु औचित्य छैन।’

साथै उनले सांसदहरूले जनताले रगतपसिना बगाएर तिरेको तिरोमाथि रमाइलो गरेर बस्नुको पनि औचित्य नरहेको बताए। लिङ्देनले भने, ‘सरकारको उपस्थिति भएर जबाफ नदिएसम्म संसद् चल्नुको कुनै औचित्य छैन। ठोस जबाफ नआएसम्म संसद् अगाडि बढ्दैन।’

प्रकाशित: १८ फागुन २०८० १३:०० | Friday, March 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast