गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय हाेइन : कांग्रेस महामन्त्री शर्मा

हिमाल प्रेस १० चैत २०८० १८:१४ | Saturday, March 23, 2024
गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय हाेइन : कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा जिल्लाका कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताएका छन्।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जली सभा’मा उनले झापा कांग्रेसको संगठन निर्माणमा बुढाथोकीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

‘झापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो,उहाँमा सबैलाई समेटेर लैजाने क्षमता थियो,जसका कारण वि.स. २०६४ सालको संविधानसभा निर्वाचनमा झापाका सबै क्षेत्रमा कांग्रेस पराजित हुँदा पनि उहाँ विजयी हुनुभएको थियो’, शर्माले भने।

महामन्त्री थापाले आफ्नो पिता नहिँडेको राजनीतिक बाटोमा हिँडाएका स्वर्गीय बुढाथोकीले समाजलाई संगठित रुपमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे।

‘स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसका कारण उहाँ झापा कांग्रेस र सिङ्गो पार्टीभित्र सबैले रुचाइएको व्यक्ति हुनुहुन्थ्यो’, उनले भने।

फरक प्रसंगमा महामन्त्री शर्माले नेपाली राजनीतिमा गठबन्धन परिवर्तन हुँदा राजनीतिक संकट निम्तियो भनेर आत्तिन नहुने बताए। महामन्त्री शर्माले संसद्मा उपप्रधानमन्त्री एवं गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको भन्दै राजनीति सुधार गर्छु भन्ने दलले नै आरोपित व्यक्ति नै अनुसन्धान गर्ने निकायमा पठाउँदा आम जनतामा शंका उत्पन्न भएको बताए।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बूले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिंगो मुलुकको नेता भएको बताए। नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले बुढाथोकी विकासप्रेमी र निडर नेता भएको बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले बुढाथोकीमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता भएको व्यक्तिका रूपमा स्मरण गरे। वि.सं.२००१ मा जन्मेका बुढाथोकीको वि.सं.२०८० माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: १० चैत २०८० १८:१४ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast