प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको नयाँ गठबन्धनलाई लिएर नेपाली कांग्रेसले गरेको टिप्पणीमाथि जवाफ फर्काएका छन्। प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि छलफलको क्रममा जवाफ दिँदै दाहालले फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्षमा गएको नेपाली कांग्रेसलाई अर्को ठूलो शक्ति नेकपा एमालेसँग मिल्न चुनौती दिएका हुन्।
‘आजको संसदमा बहस सजीव रुपमा अघि बढेको छ। तेस्रो पटक विश्वासको मत लिँदैछु गठबन्धन भत्किँदै बन्दै गरेकाले’, उनले भने, ‘पुरानो गठबन्धनलाई निन्तरता दिनु भनेको दिन काट्नु, काल पर्खिनु जस्तै भयो। प्रधानमन्त्री थिएँ तर विकास होस् कि नहोस् भनेर बस्न मिल्ने थिएन। कांग्रेससँग मिल्न नसकेपछि मैले कि पद त्याग्नुपर्थ्यो कि त नयाँ गठबन्धनमा जानुपर्थयो।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई ठूला दल मिलेमा माओवादीको हालत के हुन्छ भन्नै बुधबारको संसद् बैठकमै कटाक्ष गरेका थिए।
‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ? भनेर पहिले पनि भनियो, आज पनि भनियो’, उनले भने, ‘मेरो त कामना छ तपाईंहरू सबै मिल्नु भयो भने माओवादी प्रतिपक्षमा जान्छ। कांग्रेसका नेताहरूले त्यसो भनेर ठूला दलहरू मिल्दा माओवादी केन्द्र डराउँदैन।’
हिजो कांग्रेस र एमाले मिलेर आफूहरूको टाउको काट्न खोजेको पनि दाबी उनले गरे। ‘हिजो सबै मिलेर टाउको काट्न खोजेकै हो नि त’, उनले भने, ‘राजनीतिक रुपले हित र फाइदा हुन्छ भने गठबन्धनमा मिल्ने हो, विचार नमिले छाड्ने हो।’
उनले प्रश्न उठेका मान्छेलाई किन मन्त्री बनाएको भनेर कांग्रेसले सोधेको प्रश्नको जवाफ पनि दिए। ‘प्रश्न उठेकालाई किन मन्त्री बनाइयो, किन सरकारमा लगियो भनियो तर उनैलाई प्रधानमन्त्री बनाउन पनि हिँडेको हामीले सुनेकै छौँ। आफूतिर नआउने भएपछि भ्रष्टाचारी र कारबाहीमा परेको भनिदिए हुने हो?’



