भेरीगङ्गा (सुर्खेत)- कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह सुरु गरेको छ। विषादीको प्रयोग बढ्दै गएको भन्दै यसको प्रयोगलाई घटाउन बिहीबारदेखि एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरिएको हो।
सप्ताह कार्यक्रमको प्रारम्भ गर्दै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने बताए। उनले कर्णाली प्रदेशलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने प्रदेश सरकारको योजना कार्यान्वयन सुरु भएको बताए।
पछिल्लो समय मुटु, मिर्गाैलाका बिरामी बढ्दै गएको उल्लेख गर्दै यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको मन्त्री शर्माले बताए। ‘मुटु र मिर्गाैलासँगै क्यान्सरका बिरामी बढिरहेका छन्, यसको प्रमुख कारण भनेको रासायनिक विषादीको प्रयोग र त्यसबाट उत्पादन भएको खाद्य वस्तु हो, त्यसैले विषादीको प्रयोगलाई घटाउन अभियान नै चलाएका हौँ’, मन्त्री शर्माले भने।
उनले कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँ–गाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। अग्र्यानिक प्रदेश बनाउने कर्णाली सरकारको सङ्कल्पलाई अब व्यावहारिक कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ।
यसैगरी, मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको उल्लेख गर्दै यसको निराकरण गर्न कर्णालीबाट सुरुआत गर्नुपर्नेमा जोड दिए। उनले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेश बनाउन सके देशलाई नै सिकाइ हुने उल्लेख गर्दै विषादीको सट्टा अन्य विकल्प खोज्नुपर्ने बताए।
सप्ताहव्यापी कार्यक्रममा जनचेतनामूलक प्रसारप्रसार, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए। उनले विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। रासस

                                             
                                             
                                             

