आगलागीमा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले दियो एक लाख रुपैयाँ

हिमाल प्रेस ६ चैत २०८० १९:०२ | Tuesday, March 19, 2024
आगलागीमा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले दियो एक लाख रुपैयाँ

इटहरी- भोजपुरको हतुवागढी-७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ।

मुख्यमन्त्री केदार कार्कीले ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट मंगलबार एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन्। राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलमपट्टी लगाएको बताए। ‘प्रदेश तथा स्थानीय सरकार घरआँगनकै सरकार भएकाले जनताको समस्यामा तथा पीडामा सधैँ साथ रहन्छ’, उनले भने।

चेक हस्तान्तरण कार्यक्रममा भोजपुरबाट कोशी प्रदेशमा निर्वाचित सांसद विनोद बान्तवा राई, सिर्जना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायत सहभागी थिए। पीडितको निवासमै पुगेर मुख्यमन्त्रीसहितको टोलीले राहत रकम हस्तान्तरण गरेको हो।

शनिबार भएको आगलागीमा स्थानीय रमेश कार्कीका ५ वर्षीया छोरी दीपशिखा कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनीष कार्कीको ज्यान गएको थियो।

मुख्यमन्त्री कार्कीको अपिल :  सावधान र जिम्मेवार बनौँ

मुख्यमन्त्री कार्कीले अहिलेको मौसममा हुरीका साथै आगलागी बढी हुने भएकाले सावधान रहन अपिल गरेका छन्।

एक सन्देशमार्फत उनले भनेका छन्, ‘जंगलमा डढेलो लगाउने कार्य नगर्न, ससाना बालबालिका नजिक आगलागीजन्य वस्तुका साथै प्रज्वलनशील पदार्थ नराख्न, आगोको काम सकिएपछि पूर्ण रूपमा निभाउन, ग्यास तथा विद्युतीय सामग्रीहरू सावधानीपूर्वक प्रयोग गरी यस्ता घटना न्यूनीकरण गर्न सकिन्छ।’

उनले विपद्को घटना हुनासाथ नजिकको प्रहरी कार्यालयको कन्ट्रोल १०० र दमकल सेवाका लागि १०१ मा जानकारी गराएर जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्न अपिल गरेका छन्।

प्रकाशित: ६ चैत २०८० १९:०२ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast