 
                             
                                            काठमाडौँ- अमेरिकाको न्यूयोर्कमा ६८ औँ यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छन्।
शुक्रबार साँझ कतार एयरलाइन्सको जहाजबाट मन्त्री चौधरी स्वदेश फर्किएकी हुन्।
मन्त्री चौधरीलाई मन्त्रालयका सचिव सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट लगायतले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका थिए।
तीन वर्षपछि नेपालबाट यूएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो। महिलाका सामाजिक, आर्थिक, न्यायिक समानता लगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको छ।
मन्त्री चौधरीले सम्मेलनले पारित गरेका एजेण्डाले महिला समानताका पक्षमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैंगिक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको बताइन्।
‘भ्रमण फलदायी भएको छ । लैंगिक समानता, सामाजिक, आर्थिक क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू, वर्तमान अवस्थामा ब्यहोर्नु परेका चुनौतिहरु बारे विश्वमाझ जानकारी दिन सके। सम्मेलनमा तीन वर्षदेखि मन्त्री स्तरीय प्रतिनिधिमण्डलको भ्रमण भएको थिएन। समग्रमा भन्नुपर्दा भ्रमण फलदायी र उपलब्धिमूलक भएको छ,’ उनले भनिन्।
चौधरीले एक हप्ताको भ्रमणका क्रममा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी भएकी थिइन्
सम्मेलनमा उनले महिला र युवतीहरुका सवालमा नेपालले गरेका काम, अपनाएका नीति, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिला सहभागिताको बर्तमान अवस्था, सरकारले ब्यहोर्नु परिरहेको चुनौतिका बारेमा विश्वको ध्यानाकर्षण गएकी थिइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 