काठमाडौँ- नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङको निधनपछि निर्वाचन क्षेत्र इलाम-२ मा उनको ठूलै अभाव खड्किएको छ। २०५६ सालदेखि लगातार जित्दै आएका नेता थिए, नेम्बाङ। यसको ठूलो पीडा नेम्बाङ परिवार र एमाले परिवारमा परेको छ।
एमालेका लागि एकातिर अभिभावक गुमाउनुको पीडा छ भने अर्कातिर सदावहार जनप्रतिनिधि नहुनुको दुःख छ। एमालेका कार्यकर्ताहरू भन्न थालेका छन्, ‘हाम्रो क्षेत्रमा अहिले यो क्षेत्रमा उठ्ने नेता भेट्न गाह्रो छ।’ उक्त निर्वाचन क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। ‘नेम्बाङको निधनपछि अभिभावकविहीन भएको अनुभूति भएको छ,’ एमाले सचिव उमेश गुरुङ भन्छन्।
लामो समय नेम्बाङ नै उम्मेदवारका रूपमा अघि बढ्दा एमालेको दोस्रो पुस्ताले दाबी गर्न सक्दैनथ्यो। एमालेका अन्य नेता स्थानीय तह र जिल्लामै खुम्चिन बाध्य थिए। उम्मेदवार सिफारिस पनि नेम्बाङको नाम सर्वसम्मत रहन्थ्यो। कतिपयको नाम सिफारिस भए पनि क्षेत्रभन्दा माथि पुग्दैनथ्यो। निरन्तर जितिरहने र केन्द्रीय स्तरमा समेत छवि भएकाले नेम्बाङको विकल्प थिएन। इलाम एमाले पनि नेम्बाङको निर्देशनमा चल्थ्यो।
एमालेबाट एकीकृत समाजवादी विभाजित हुँदा जिल्लाका अर्का नेता झलनाथ खनाल बाहिरिएका थिए। नेम्बाङको प्रभावकै कारण पूर्वअध्यक्ष र पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालसँग अधिकांश कार्यकर्ता गएनन्। कुनै बेला खनाल निकट मानिने नेताकार्यकर्ता पनि एमालेमै रहे।
अब एमालेले तिनै नेम्बाङको क्षेत्रमा चुनाव लड्नुपर्नेछ। एमालेबाटै आधा दर्जन बढी आकांक्षी नेम्बाङको उत्तराधिकारी बन्ने तयारीमा छन्। कोही परिवारबाटै छन् त कोही बाहिरबाट। आकांक्षीहरू आन्तरिक भेटघाटमा व्यस्त हुन थालेका छन्।
सुहाङ नेम्बाङ
इलाम-२ को प्रतिनिधिसभाको निर्वाचनका लागि सुवास नेम्बाङकै छोरा सुहाङलाई दाबेदारका रूपमा हेरिएको छ। सुहाङ बुबा सुवासको निधनपछि अप्रत्यासित रूपमा राजनीतिमा आउने संकेत देखाएका थिए।
बुबाको निधनपछि उनी इलामकै विभिन्न कार्यक्रममा सहभागी भए। इलामचोक बजारको लाकुरी चौताराबाट उनले ‘बुवाको ठाउँको सेवा विभिन्न तवरबाट गर्ने’ बताएका थिए। उनले त्यसबेला सीधै राजनीतिमा आउने भनेनन्। अहिले पनि सुहाङले निर्वाचन लड्ने बताएका छैनन्।
‘पार्टीले र हाम्रा अभिभावकले के भन्नुहुन्छ, त्यहीअनुसार चल्छु,’ सुहाङले हिमाल प्रेससँग भने, ‘मलाई जिम्मेवारी आउँछ भने तयार रहन्छु।’ उनले यसबीचमा जिल्लाका विभिन्न ठाउँ घुमेका छन्। ‘म कार्यक्रममा विभिन्न ठाउँ पुगेँ,’ सुहाङले भने, ‘जनताले तपाईँ राजनीतिमा आउँदा राम्रो हुन्छ भन्नुभएको छ।’ सुहाङ पेसाले अधिवक्ता हुन्।
स्पोर्टिङ इलाम क्लबका अध्यक्षसमेत रहेका उनको इलामा भिन्नै पहिचान छ। एमाले नेताहरू सुवासको ठाउँमा सुहाङलाई उठाउन सकिने बताउँछन्। ‘बुबाले गर्न बाँकी रहेको काम पूरा गर्छु’, उनले भने।
रवीन्द्र सुवेदी
इलाम-२ मा सुवासको क्षेत्रमा उठ्ने आकांक्षा देखाएका नेता हुन्, रवीन्द्र सुवेदी। उनी पार्टी जिल्ला उपसचिव छन्। उनको घर इलाम क्षेत्र नम्बर २ कै देउमाई नगरपालिका पर्छ।
‘जिम्मेवारी आएको खण्डमा तयार छु,’ सुवेदी भन्छन्, ‘म जिल्लामा बसेर राजनीति गर्छु, युवा हुँ। पार्टीले जिम्मेवारी दिएमा नाइँ भन्दिनँ।’ उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य बनिसकेका छन्।
बुद्धि खनाल
आउँदो चुनाव लड्ने आकांक्षी बोकेका अर्का व्यक्ति हुन्, बुद्धि खनाल। माई नगरपालिका ७ का वडाध्यक्षसमेत रहेका खनाल पनि संसद् पदका आकांक्षी हुन्।
खनालले माई नगरपालिकाको प्रमुखमा दाबी गरेका थिए। खम्बासिंह लिम्बूले टिकट पाउँदा उनी वडाध्यक्ष उठेका थिए। उनी पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्बाङका स्वकीय सचिवसमेत भइसकेका छन्। उनी पार्टीको जिल्ला सचिवालय सदस्य हुन्।
प्रेमराज लिम्बू
सुवास नेम्बाङको उत्तराधिकारी बन्न आकांक्षा देखाउनेमा पर्छन्, प्रेमराज लिम्बू। उनी इलाम-२ कै फाकफोकथुम गाउँपालिकाबासी हुन्। यसअघि गाउँपालिका अध्यक्षका दाबेदार थिए लिम्बू। तर फाकफोकथुम गाउँ कमिटी अध्यक्ष दीपेन्द्र खनालले आकांक्षा देखाएपछि उनी पछाडि हटे।
खनाल अहिले गाउँपालिकाकै अध्यक्ष निर्वाचित भए। लिम्बूले प्रतिनिधिसभामा आकांक्षा देखाएका छन्। उनी गाउँमा बसेर राजनीति गर्ने व्यक्तिमा पर्छन्।
लामो समयदेखि कम्युनिस्ट राजनीति गरेका आफूलाई उम्मेदवारी दिए पछि नहट्ने बताउने गरेका छन्।
अन्य दाबेदार
पुराना एमाले नेता नरेन्द्रनाथ भट्टराई, डा.देवी क्षेत्री दुलालसमेत यसपटकका इलाम-२ का आकांक्षी हुन्। भट्टराई कुनै बेला एमालेका जिल्ला कमिटी अध्यक्षमा आकांक्षा राखेका नेता हुन्। बौद्धिक नेता डा. दुलाल यसअघि पार्टी जिल्ला कमिटीमा समेत उम्मेदवार बनेका थिए।
अध्यक्षमा महेश बस्नेतले जित्दा दुलालले हार्न पुगे। ‘पार्टीले मलाई उपयुक्त ठान्छ भने म मैदान उत्रिन तयार छु’, डा. दुलाल भन्छन्। यसका साथै पार्टी जिल्ला कमिटी उपाध्यक्ष उदय राई र सचिव उमेश गुरुङले पनि दाबेदारी प्रस्तुत गर्दै आएका छन्। उपाध्यक्ष राई सन्दकपुर गाउँपालिका अध्यक्ष थिए।
कुनै बेला पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव बनेका राई अहिले दाबेदार प्रस्तुत गरिरहेको एमाले नेताहरू सुनाउँछन्। यता सचिव गुरुङ पनि पार्टीले टिकट दिए। आफू उठ्न तयार रहेको बताउने गरेका छन्।
एमालेमा प्रतिनिधिसभा सदस्यका आकांक्षा धेरै छन्। तर टिकट पाउने निश्चित भने कसैको छैन। कसैले भिड्नकै लागि आकांक्षा देखाएका छन् भने कतिले नामका लागि दाबेदारी प्रस्तुत गरेका छन्।
एमाले जिल्ला कमिटी सचिव उमेश गुरुङ केन्द्रीय कमिटीले टिकट नपठाएसम्म यसबारे बोल्न नमिल्ने बताउँछन्। यसपटक एमालेका आकांक्षीलाई हारको डर ठूलो छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुवास नेम्बाङले ११४ मतान्तरले मात्र जितेका थिए। ‘सुवास नेम्बाङ केन्द्रीय स्तरको नेता हुनुहुन्थ्यो। त्यति मतले मात्र जित्नुहुन्थ्यो जस्तो लागेको थिएन,’ एमालेका एक जिल्लास्तरीय नेता भन्छन्, ‘त्यो पोर्टफोलियोको नेताले त त्यति मतले जित्दा अब त झनै गाह्रो हुन सक्छ।’
नेम्बाङले ३० हजार २० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए
एमाले नेताको एउटै राय : क्षेत्र नगुमाऔँ
इलाम-२ मा एमालेले लगातार जितेको क्षेत्र हो। नेम्बाङले २०५६ साल यता निरन्तर यहाँ जितिरहेका छन्। अब एमालेलाई खतरा क्षेत्र गुम्ने हो कि भन्ने छ। एमालेका नेताहरू साख जोगाउने गरी लाग्नुपर्ने बताउँछन्।
नेम्बाङले २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा जित निकालेका छन्। २०७४ सालको चुनावमा नेम्बाङ निकटतम् प्रतिद्वन्द्वी भन्दा झन्डै १० हजार मतान्तरले जितेका थिए। २०७४ को चुनावमा नेम्बाङले ३६ हजार ५ सय १४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरेका थिए।
एमाले उपसचिव रवीन्द्र सुवेदी लगातार जितेको क्षेत्रमा अब पनि एमाले नै विजयी हुने बताउँछन्। ‘हाम्रो संगठन दह्रो छ। हामीले संगठन विस्तारका काम पनि गरिरहेका छौँ,’ उनी भन्छन्, ‘चुनाव जित्ने तयारीमा हामी लागेका छौँ।’ इलाम-२ मा २ लाख २४ हजार ८७७ मतदाता छन्।