कांग्रेस महासमिति : चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव सर्वसम्मत पारित

सन्तोष अधिकारी १० फागुन २०८० १६:५४
82
SHARES
कांग्रेस महासमिति : चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव सर्वसम्मत पारित

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठकले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको छ। महासमिति बैठकले महामन्त्री गगनकुमार थापले पेस गरेको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित गरेको हो। महामन्त्रीले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए।

यसैगरी महासमितिको बिहीबारको बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत पारित भएका छ।

बैठकमा महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन आग्रह गरेका थिए। महासमिति सदस्यहरुले ताली बजाएर समर्थन जनाएका थिए। चारैवटा प्रस्ताव कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्नुपर्नेछ।

यस्तो छ गगन थापाको प्रस्ताव

एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपर्यो। गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ। तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ– ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ।’

प्रकाशित: १० फागुन २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =