कांग्रेसले देखेको आठ चुनौती

सन्तोष अधिकारी ८ फागुन २०८० १२:४२
20
SHARES
कांग्रेसले देखेको आठ चुनौती महासमिति बैठकमा नीति प्रस्ताव पेस गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का। फाइल तस्बिर : हिमाल प्रेस

ललितपुर- नेपाली कांग्रेसले मुलुकसामु आठवटा समस्यालाई प्रमुख चुनौतीका रूपमा लिएको छ। पार्टी महासमिति बैठकअन्तर्गत मंगलबार सुरु भएको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्तावमा चुनौतीका विषयलाई आठवटा बुँदामा समेटिएको हो।

खड्काको प्रस्तावमा संविधानको व्यावहारिक र प्रभावकारी कार्यान्वयनको सवाल, लम्बिदो संक्रमण र नागरिकका दु:ख, सार्वजनिक संघसंस्थाप्रतिको घट्दो विश्वासलाई चुनौतीका रूपमा लिइएको छ। यसैगरी बढ्दो असमानता, नागरिक स्तरमा रहेको निराशा, लोकरिझ्याइँ, अधिनायकवाद र पुनरुत्थानको कुचेष्टाजस्ता समस्या पनि खड्काले औँल्याएका छन्।

खड्काले संविधानले प्रत्याभूत गरेको मौलिक हकलगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने कतिपय कानुनको निर्माणमा अझै पनि काम गर्न बाँकी रहेको उल्लेख गरेका छन्।

राजनीतिक स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दाे र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा संक्रमणकालीन अवस्था लम्बिइरहेको उनको प्रस्तावमा उल्लेख छ।

खड्काले उल्लेख गरेका छन्, ‘सत्य निरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न सकेका छैनन्। समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न सकेका छैनन्।’ यसले गर्दा नागरिकका दु:ख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन नसकेको उनको भनाइ छ।

सरकारी संघसंस्था, संवैधानिक अंग, संसद् तथा यसअन्तर्गतका काय तथा समितिलगायतका अन्य सार्वजनिक निकाय तथा संघसंस्थाले नागरिकको विश्वास जित्न नसकेको हो कि भन्ने भावनाको विकास हुन थालेको खड्काको प्रस्ताव उल्लेख छ।

साथै सार्वजनिक संघसंस्था र निकायमा भएको दलीयकरण र राज्यले प्रदान गर्ने सार्वजनिक सेवा तथा कार्यको गुणस्तर कमजोर भयो भन्ने आमनागरिकको गुनासो रहेको पनि उनले उल्लेख गरेका छन्। ‘नागरिकका यस्ता गुनासा तथा सरोकारलाई समयमै प्रभावकारी ढ‌ंगले सम्बोधन गर्न नसक्दा सार्वजनिक संघसंस्थामाथि नागरिकको अविश्वास विस्तारै बढ्दो छ’, खड्काको प्रस्तावमा उल्लेख छ।

नेपाली समाजमा विभिन्न खालका असमानता बढ्दै गइरहेको खड्काले उल्लेख गरेका छन्। ‘आर्थिक रूपमा सम्पन्न र विपन्न बीचको खाडल झन् फराकिलो हुँदै गएको छ। कुनै समयमा जमिन माथिको स्वामित्वले असमानता बढाएको थियो तर अहिले प्राकृतिक स्रोत साधनको असमान वितरण, शक्ति तथा स्रोतमाथिको असमान पहुँच लगायतका कारणले असमानता बढाउँदै लगेको स्थिति छ।’

विविध विषम परिस्थिति तथा चुनौतीका कारण नागरिकस्तरमा निराशा बढिरहेको खड्काको प्रस्तावमा उल्लेख छ। द्वन्द्वग्रस्त अवस्थामा पुगेको मुलुकलाई नेपाली कांग्रेसले सम्हाल्दै सबै शक्तिलाई विश्वासमा लिई निकास दिएर मूलबाटोमा त फर्काए पनि शान्ति प्रक्रियाका कतिपय काम बाँकी रहेको उनले औँल्याएका छन्।

उनको प्रस्तावमा छ,  ‘जनआन्दोलनपछिको करिब १८ वर्षको अवधिमा देशले विकास, समुन्नति तथा आर्थिक वृद्धिमा धेरै काम गरिसक्नुपर्ने थियो। देशले स्थिरता र प्रगतिको बाटो पक्रिसक्नुपर्ने थियो तर विविध कारणले त्यसो हुन सकिरहेको छैन।’

देशमा द्रुत आर्थिक विकासको अभाव रहेको, आमनागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन नसकिरहेको उनको भनाइ छ।  कतिपय निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति बढेको कांग्रेसको ठहर छ।

‘समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नु पर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ। मूलत: लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको छ’, खड्काले उल्लेख गरेका छन्।

लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व नरेहको दाबी कांग्रेसको छ। खड्काले भनेका छन्, ‘न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य। न त लोकतन्त्रप्रतिको प्रतिबद्धता छ, न त भावी यात्राको प्रस्ट मार्ग चित्र नै। यिनीहरू सस्तो लोकप्रियताका नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्नशील छन्।’

अधिनायकवादीहरू रूपमा भिन्न देखिए तापनि सारमा लोकतन्त्र विरोधी नै रहेको खड्काले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘ उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको बृहत्तर हितको दायित्व बोध छ, न जिम्मेवारी।’

भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्त्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयासमा लागेको खड्काले उल्लेख गरेका छन्।

राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आमनागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइलाई व्यवस्थासँग जोडेर परिवर्तनविरुद्ध आवाज उठाउनेहरू पनि सक्रिय देखिएको खड्काको प्रस्तावमा उल्लेख छ।

उनले भनेका छन्, ‘राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो। इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन। पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, यो केवल अर्थहीन कुचेष्टा मात्रै हो।’

खड्काले यस्ता समस्या समाधानका लागि विभिन्न सुझाव पनि पेस गरेका छन्। संविधानको कार्यान्वयन गरिनुपर्ने, सुशासन, सदाचार र भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, अर्थतन्त्रको सुधारमा राजनीतिक प्रतिबद्धता हुनुपर्ने, असमानताको न्यूनीकरण हुनुपर्ने खड्काको सुझाव छ।

साथै सार्वजनिक संस्थाको सबलीकरण, शासन प्रणालीमा नागरिक सहभागिता, संघीयता कार्यान्वयन र सबलीकरण, प्रभावकारी सेवा प्रवाह, युवा ज्ञान तथा विज्ञताको सदुपयोगसम्बन्धी नीति अवलम्बन गर्नुपर्ने उनको प्रस्ताव छ। दलीय अन्तरसम्बन्ध, पार्टीको आन्तरिक लोकतन्त्र र सहचार्य अभिवृद्धि, आन्तरिक शक्ति र आन्तरिक सुशासनजस्ता गतिविधिले मात्रै विद्यमान समस्या समाधान हुने सक्ने दाबी खड्काको प्रस्तावमा गरिएको छ।

खड्काले भनेका छन्, ‘परिस्थिति अप्ठ्यारो छ, चुनौती छन्, समस्या छन् तर यस परिस्थितिलाई नेपाली कांग्रेसले सम्हाल्छ। नेपाली कांग्रेसका एकएक सदस्य साथीहरू यस परिस्थितिलाई आफ्नो स्थानमा रहेर सम्हाल्न र नेतृत्व दिन सक्षम छन्। प्रगति तथा समुन्नतिको तीव्र र उत्कट चाहना बोकेका आमव्यक्तिका चासो र सरोकारलाई हामी सम्बोधन गर्छौँ।’

राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूलभूत मान्यताको जगमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी ढंगले नागरिकको चाहनालाई सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।

अप्ठ्यारा परिस्थिति यस्ता छन् :
संविधानको व्यावहारिक र प्रभावकारी कार्यान्वयनको सवाल : वि.सं. २००३ साल देखिनै नेपाली कांग्रेसले लिपिबद्ध गर्दै र भन्दै आइरहेको नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता, वालिग मताधिकार, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायालय, समावेशीकरण, लोकतान्त्रिक समाजवादी अर्थ राजनीतिक व्यवस्था, अधिकार, श्रोत र साधनको विकेन्द्रीकरण, विधिको शासन लगायतका विषय समावेश गरी वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भयो। नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था त थिएन तर पनि नेपाली कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान बन्यो। देश लोकतान्त्रिक बाटोमा गयो। यद्यपि जति मेहनत र होशियारीका साथ संविधान बनेको भएता पनि केही असन्तुष्टि फेरि पनि बाँकी रहे। यस विषम परिस्थितिलाई सम्हाल्दैै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले दुई पटक तीनै तहको निर्वाचन सम्पन्न गर्‍यो। यद्यपि संविधानले प्रत्याभूत गरेको मौलिक हक लगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने कतिपय कानुनको निर्माणमा अझै पनि काम गर्न बाँकी छ।
लम्बिदो संक्रमण र नागरिकका दु:ख : राजनीतिक स्थायित्व, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दाे र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा संक्रमणकालीन अवस्था लम्बिइरहेको छ। सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न सकेका छैनन्। यसका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन सकेको छैन। समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न सकेका छैनन्। यसले गर्दा नागरिकका दु:ख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन सकेको छैन।
सार्वजनिक सङ्घसंस्था प्रतिको घट्दो विश्वास : नेपालका सरकारी सङ्घसंस्था, संवैधानिक अङ्ग, संसद् तथा यस अन्र्तगतका निकाय तथा समिति लगायतका अन्य सार्वजनिक निकाय तथा सङ्घसंस्थाले नागरिकको विश्वास जित्न नसकेको हो कि भन्ने भावनाको विकास हुन थालेको छ। सार्वजनिक सङ्घसंस्था र निकायमा भएको दलीयकरण र राज्यले प्रदान गर्ने सार्वजनिक सेवा तथा कार्यको गुणस्तर कमजोर भयो भन्ने आमनागरिकको गुनासो छ। नागरिकका यस्ता गुनासा तथा सरोकारलाई समयमै प्रभावकारी ढङ्गले सम्बोधन गर्न नसक्दा सार्वजनिक सङ्घसंस्थामाथि नागरिकको अविश्वास विस्तारै बढ्दो छ।
बढ्दो असमानता : नेपाली समाजमा विभिन्न खालका असमानताहरू बढ्दै गइरहेका छन्। आर्थिक रूपमा सम्पन्न र विपन्न बीचको खाडल झन् फराकिलो हुँदै गएको छ। कुनै समयमा जमिन माथिको स्वामित्वले असमानता बढाएको थियो तर अहिले प्राकृतिक स्रोत साधनको असमान वितरण, शक्ति तथा स्रोत माथिको असमान पहुँच लगायतका कारणले असमानता बढाउँदै लगेको स्थिति छ। एउटा वर्ग आर्थिक रूपमा सम्पन्न हुने र अर्को वर्ग विपन्न हुँदै जाने अवस्था सिर्जना हुनथालेको छ।
नागरिकस्तरमा रहेको निराशा : विविध विषम परिस्थिति तथा चुनौतीहरूका कारण नागरिकस्तरमा  निराशा बढ्दो छ। द्वन्द्वग्रस्त अवस्थामा पुगेको मुलुकलाई नेपाली कांग्रेसले सम्हाल्दैै सबै शक्तिलाई विश्वासमा लिई निकास दिएर मूलबाटोमा त फर्काएको छ तर पनि अझै शान्ति प्रक्रियाका कतिपय काम बाँकी छन्। जनआन्दोलनपछिको करिब १८ वर्षको अवधिमा देशले विकास, समुन्नति तथा आर्थिक बृद्धिमा धेरै काम गरिसक्नुपर्ने थियो। देशले स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने थियो तर विविध कारणले त्यसो हुन सकिरहेको छैन। देशमा द्रुत आर्थिक विकासको अभाव छ। आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकिरहेको छैन। नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै आशा र भरोशा कायम गरी समुन्नत मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ।
आम तहमा रहेका कतिपय निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हावी हुन खोजेको छ। समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नु पर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ। मूलत: लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको छ।
लोकरिझ्याइँ : दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रस्ट दृष्टिकोणविना लोकप्रियताका लागि जे पनि बोल्नु नै लोकरिझ्याइँ हो। त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन। न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य। न त लोकतन्त्र प्रतिको प्रतिवद्धता छ, न त भावी यात्राको प्रष्ट मार्ग चित्र नै। यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्नशील छन्।
अधिनायकवाद : निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो। अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र बिरोधी नै हुन्। उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको वृहत्तर हितको दायित्व बोध छ, न जिम्मेवारी। भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेका छन्।
पुनरुत्थानको कुचेष्टा: राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ छ। यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरू पनि देखिएका छन्। राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो। इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन। पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, यो केवल अर्थहीन कुचेष्टा मात्रै हो।
चुनौतीपूर्ण परिस्थिति तथा नागरिकका बीचमा बढ्दो निराशालाई सम्बोधन  गर्ने प्रतिबद्धता 
संविधानको कार्यान्वयन : नेपाली कांग्रेस संविधानलाई गतिशील दस्तावेजका रूपमा हृदयङ्गम गर्दछ। संविधानको आधारभूत रचनामा प्रतिकूल असर नपर्ने गरी आवश्यकता अनुसार संविधान संशोधनप्रति नेपाली कांग्रेस खुला छ। संविधान लागु भए यताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पङ्तिबाट आएका सुझावहरू समेतका आधारमा संविधान संशोधनको नेतृत्व नेपाली काँग्रेस आफैँले लिने छ। आगामी दिनमा सम्पूर्ण पक्षसँग छलफल गर्दै संविधानलाई थप सम्बृद्ध र सर्वस्वीकार्य बनाउन नेपाली कांग्रेस सम्पूर्ण नागरिक तथा राजनीति शक्तिलाई एकै स्थानमा ल्याएर छलफल, अन्तक्र्रिया तथा विमर्श मार्फत समाधान खोज्ने प्रतिवद्धता व्यक्त गर्दछ।
सुशासन, सदाचार र भ्रष्टाचार नियन्त्रण : सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो। नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो। समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एकअर्काका पूरक हुन्। यो नै लोकतन्त्र र समृद्धिको आधार पनि हो। लोकतन्त्र आत्मअनुशासनसँग जोडिन्छ र आत्मअनुशासन निष्ठा, नैतिकता र आत्मबोधसँग जोडिन्छ। यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुन्छ। नेपाली कांग्रेस भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्दछ।
नेपाली काँग्रेस सम्मिलित वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कदम चालेको छ। यो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नु पर्ने आवश्यकता छ। यसका प्रति नेपाली कांग्रेस आफ्नो प्रतिवद्धता दोहोर्‍याउँछ।
नीतिको कार्यान्वयन र अनुगमन प्रक्रिया पारदर्शी हुनुपर्छ। यसर्थ देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुनेछ। सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार निवारण ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेस मूल नीतिको रूपमा स्वीकार गर्दछ।
कुनै पनि व्यवस्था स्थापनासँगै स्वचालित तवरले विकास, उन्नति र रूपान्तरण भई हाल्छ भन्ने भ्रमबाट नेपाली कांग्रेस मुक्त छ। त्यसैले सामूहिकता, सुकर्म र आत्मअनुशासनलाई सुशासनको आधार मान्दै यसको जगमा उभिएर भ्रष्टाचार नियन्त्रण गर्ने नीति तथा कार्यक्रम तय गर्ने अभिभारा नेपाली कांग्रेसले पूरा गर्नेछ।
नेपाली कांग्रेसकै नेतृत्वको सरकारले वि.सं.२०५९ सालमा भ्रष्टाचार निवारण ऐन जारी गरेको हो। भ्रष्टाचार निवारण सम्बन्धी छाता ऐन र स्वार्थ द्वन्द्व सम्बन्धी ऐन जारी गर्ने एवं सदाचार प्रवद्र्धन नीति तर्जुमालाई नेपाली कांग्रेसले आफ्नो प्रमुख कार्यभारको रूपमा अगाडि बढाउने छ। सम्पत्ति शुद्धीकरण ऐन तथा राजस्वअनुसन्धानसँग सम्बन्धित नीति, नियम, ऐन कानूनको समीक्षा गरी बलियो र प्रभावकारी बनाउने र यस्ता निकायहरूको आवश्यकता अनुसार पुनर्संरचना गर्ने नीति अख्तियार गर्नेछ।
न्यायालय लोकतान्त्रिक सुशासनको अभिन्न अङ्ग हो। यस तथ्यलाई हृदयंगम गरी विधिको शासनका लागि न्यायालयले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै न्यायिक स्वतन्त्रता र संवैधानिक सर्वोच्चताप्रति नेपाली कांग्रेस प्रतिवद्ध छ।
अर्थतन्त्रको सुधारमा राजनीतिक प्रतिबद्धता : हाल देखिएका बेरोजगारी, गरीबी, अविकास, उद्योग कलकारखानाको अभाव लगायतका समस्याहरूको समाधान खुला बजार अर्थनीतिबाट मात्र सम्भव छ भन्ने नेपाली कांग्रेसको दृष्टिकोण रहेको छ। निजी क्षेत्रका लागि आवश्यक नीति, ऐन, कानुन तथा रणनीतिको तर्जुमा गरी निजी क्षेत्रले पनि ती कानूनहरू परिपालन गरी सहजताका साथ कार्य गर्न पाउने सरल नीतिले मात्र नेपालमा रोजगारीको सिर्जना, गरीबीको निवारण तथा द्रुत आर्थिक विकास सम्भव छ भन्नेमा हामी गहिरो विश्वास राख्दछौँ।
यसका लागि देशमा लगानीमैत्री वातावरण निर्माण गरिने छ। साथै उत्पादनमूलक तथा पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानीलाई आकर्षित गर्ने नीति अवलम्बन गरिने छ। आर्थिक क्षेत्रका नियामक निकायहरू जस्तै नेपाल राष्ट्र बैक, वीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतको क्षमता अभिवृद्धि गरी प्रभावकारीता बढाउनको लागि आवश्यक पर्ने नीति तय गर्नेछौँ।
यसैगरी मुलुकको प्राकृतिक स्रोत, साधन तथा मानव पूँजीमा आधारित उद्योग तथा कलकारखाना शुरु गर्न आन्तरिक तथा वाह्य लगानीलाई आकर्षित गर्नेछौँ। यसरी स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गर्नका लागि अवश्यक नीति, ऐन, कानुनको निर्माण गरी नेपाललाई वैदेशिक लगानीका लागि दक्षिण एशियाकै आकर्षक गन्तव्यको रूपमा विकास गरी प्रचुर र मर्यादित रोजगारी तथा स्वरोजगारीका अवसरहरुको सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
असमानताको न्यूनीकरण : नेपाली कांग्रेस स्थापनाको प्रमुख लक्ष्य भनेको समाजमा विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक असमानताको न्यूनीकरण गर्दै आम नागरिकको बीचमा समानता अभिवृद्धि गर्नु हो। जननायक बी. पी. कोइरालाले सरकारको नेतृत्व गरेको समयमा हरेक नेपाली नागरिकको जीवनस्तर आफूसरह होस् भन्नु भएको थियो। त्यसका लागि उहाँले आम नागरिकको वृहत्तर राजनीतिक सहभागिताको लागि आह्वान समेत गर्नु भएको थियो। आज नागरिकको वृहत्तर सहभागितालाई संवैधानिक रूपमा सुनिश्चित गरिएको छ।
यसको व्यावहारिक कार्यान्वयनका लागि नेपाली कांग्रेस स्पष्ट नीतिको तर्जुमा गरी अगाडि बढ्ने छ। बढ्दो असमानताको अन्त्यका लागि नेपाली कांग्रेसले सक्नेलाई सशुल्क : नसक्नेलाई निशुल्कको नीति तय गरी कार्यान्वयन गर्नेछ। यसैगरी आर्थिक रूपमा प्रचुर उत्पादन : समतामूलक वितरणको नीतिलाई नेपाली कांग्रेसले सम्पूर्ण नीति, नियम तथा योजनामा प्रतिविम्बित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।
वञ्चितीकरणमा परेका वर्ग, समुदाय, क्षेत्र, लिङ्गका नागरिकलाई समतामूलक वितरण मार्फत उत्पादनमा सहभागी हुन सक्ने वातावरण तयार गरिने छ। नेपाली समाजमा अहिले पनि जातका आधारमा, गरिबीका आधारमा, लिङ्गको आधारमा, भूगोलको आधारमा नागरिकहरू विपन्नतामा बाँधिएका छन्। यस किसिमको बन्धनले असमानतालाई बढाइरहेको छ। नेपाली कांग्रेस प्रत्येक व्यक्तिलाई विभेदका बन्धनबाट मुक्त बनाई उत्पादनका कार्यमा संलग्न हुने र समुन्नतिको मार्गमा अगाडि बढ्ने वातावरण निर्माण गर्न प्रतिवद्ध छ।
विगतमा नेपाली कांग्रेसको नेतृत्वमा कमैया, कम्लरी, हलिया, हरुवा चरुवा उन्मूलन गरेजस्तै आगामी दिनमा पनि यो समूहको आयआर्जन उकास्ने नीतिसहित अवश्यक पुनस्थापना गर्न नेपाली कांग्रेस कटिबद्ध छ।
सार्वजनिक संस्थाको सबलीकरण :  लोकतन्त्रका लागि सार्वजनिक संस्थाको सवलीकरण आधारभूत शर्त हो। नेपाली कांग्रेस राज्यसँग प्रत्यक्ष रूपमा जोडिने सार्वजनिक निकायहरू न्यायालय, व्यवस्थापिका संसद्, संवैधानिक आयोगहरू, सुरक्षा निकाय, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सङ्घसंस्थाका साथै राज्यसँग नजोडिने तर राज्यमाथि दबाब राख्ने सामर्थ्य भएका नागरिक समाज वा संस्थाहरूको सबलीकरण तथा प्रभावकारिता अभिवृद्धि गर्नु पर्ने ठान्दछ। यस्ता निकायको स्वायत्तता अक्षुण्ण राख्दै दलीय संलग्नताबाट मुक्त गर्ने गरी नीति तय गर्ने प्रतिवद्धता व्यक्त गर्दछ। साथै सार्वजनिक सेवाका पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यता, व्यक्तिको आचरण, व्यवहार, इमान्दारी, सदाचार लगायतलाई मापदण्ड तय गर्न दृढ सङ्कल्प व्यक्त गर्दछ।
शासन प्रणालीमा नागरिक सहभागिता, सङ्घीयता कार्यान्वयन र सवलीकरण : आवधिक निर्वाचनमा मतदान गरेर मात्र शासकीय पद्धति तथा प्रणालीमा नागरिक सहभागिता सुनिश्चित भएको मान्न सकिँदैन। त्यसैले आम नागरिकले नियमित रूपमा शासन प्रणालीमा सहभागी हुने र आफ्नो विचार, दृष्टिकोण तथा अपेक्षाहरू अभिव्यक्त गर्न सक्ने गरी नीति तर्जुमा गरिने छ। तीन तहका सरकार बीचको अन्तरसम्बन्ध, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने संवैधानिक व्यवस्थाको पूर्ण र व्यावहारिक कार्यान्वयनका लागि नेपाली कांग्रेस सदैव क्रियाशील रहने छ।
संविधानमा व्यवस्था भए बमोजिम सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्घीय कानूनहरू निर्माणमा भइरहेको ढिलाइप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। संविधानमा व्यवस्था भए बमोजिम प्रदेश र स्थानीय तहमा स्थापना गरिनुपर्ने सुरक्षा र प्रशासनिक सेवा सम्बन्धी शासकीय संरचना र जनताको दैनिक सरोकारसँग जोडिएका सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन लगायत सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरुको तर्जुमा गरी संसदमा तत्काल पेश गर्न र पारित गराउन नेपाली कांग्रेस प्रतिबद्ध छ।
सङ्घीयतालाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था गरिएको भूमिका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले गर्ने नीति निर्माण, विकास कार्य र सेवा प्रवाहलाई समन्वय, सहयोग र सहजीकरण गरिने छ। यसक्रममा प्रदेश सरकारको मन्त्रालयको संख्या तोकिने छ। साथै प्रशासनिक खर्च घटाउन प्रादेशिक तथा जिल्ला तहमा रहेका विभिन्न निकायहरूको औचित्यको अध्ययन गरी आवश्यक संरचना मात्र कायम गरिने छ। यस क्रममा सार्वजनिक खर्च पुनरावलोकन आयोगहरुका अध्ययनका आधारमा उपादेयता नदेखिएका सङ्घीय विभाग तथा सार्वजनिक संस्थाको खारेजीको लागि आवश्यक पर्ने नीतिगत कार्य तत्काल अगाडि बढाइने छ।
सङ्घीयता भनेको शक्ति, अधिकार, श्रोत र जिम्मेवारीको विकेन्द्रीकरण हो। यतिबेला राज्यको तल्लो तहमा अधिकार, स्रोत, साधन र जिम्मेवारी पुगेको छ। अधिकार सम्पन्न सरकार गाउँवस्तीमा पुग्दा निकै सकारात्मक र नमूना काम भएका छन्। यतिबेला नेपाली कांग्रेस तीनै तहमा ठूलो राजनीतिक दलका हैसियतमा सुशासन स्थापनाका लागि महत्वपूर्ण कार्य गरिरहेको छ। यद्यपि शासन सञ्चालन पद्धतिका सम्बन्धमा केही गुनासा तथा असन्तुष्टीहरू देखिएका छन्। यसर्थ अगामी दिनमा नेपाली कांग्रेस सङ्घीयता सफलताको आधार: मितव्ययी र लोकप्रिय सरकारको नीतिलाई अवलम्बन गर्दै तीनै तहको सरकारमा सुशासन प्रवद्र्धन गर्न दृढ सङ्कल्प व्यक्त गर्दछ।
प्रभावकारी सेवा प्रवाह : नेपालमा भएका राजनीतिक परिवर्तनप्रति नागरिकको अपनत्व बढाउन सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त, सरल, सहज र प्रभावकारी बनाउन जरुरी छ। आम नागरिकले सार्वजनिक सेवा – जस्तै नागरिकता, पासपोर्ट, सवारी चालक अनुमतिपत्र, जग्गा किनबेचजस्ता सेवा लिन पनि विभिन्न झन्झट सामना गर्नु परिरहेको छ। यसले एकातर्फ नागरिकमा शासन प्रणाली प्रतिको असन्तुष्टि बढाएको छ भने अर्को तर्फ आम तहमा निराशा बढाउन योगदान गरेको छ। तसर्थ नेपाली कांग्रेस सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, निष्पक्ष, प्रभावकारी र निश्चित समयभित्र प्राप्त गर्न सक्ने गरी आवश्यक नीतिगत व्यवस्था र त्यसको व्यावहारिक कार्यान्वयनप्रति प्रतिवद्धता व्यक्त गर्दछ।
युवा ज्ञान तथा विज्ञताको सदुपयोग सम्बन्धी नीति : आजको युग सूचना प्रविधिको युगको हो। नयाँ विधि, प्रविधि र नयाँ अवधारणा अनुरूप राष्ट्र निर्माणको अभियानमा स्वदेश तथा विदेशमा रहेर विशेषज्ञता हासिल गरेका विज्ञ तथा योग्य युवालाई राजनीति र राज्यको शासकीय जिम्मेवारीमा सहज प्रवेश दिनुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता छ। यसका लागि आवश्यक नीति तथा ऐन, कानुनको तर्जुमा गरिने छ। नेपाली कांग्रेस स्वयंले ४० वर्ष उमेर मुनिका युवा र देश विदेशमा रहेर विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञ व्यक्तिको लागि पार्टीको सम्पूर्ण समितिमा निश्चित प्रतिशत सिट छुट्याउने नीति तय गर्नेछ। साथै विदेशमा बसी रोजगारी, सीप तथा शिक्षा प्राप्त गरेका युवा मात्र रहने गरी पार्टीमा छुट्टै विभाग गठन गरिने छ।
दलीय अन्तरसम्बन्ध : नेपाली कांग्रेस सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्दछ। अनेक दल हुन्छन् र पो लोकतन्त्र हुन्छ, अनि प्रतिष्पर्धा हुन्छ। आफू मात्र भएको कल्पना त घोर निरंकुशता हो। नेपाली कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रह सहित मित्रवत् र कुनै दलप्रति दुष्मनीको साइनो छैन। शान्तिपूर्ण, मैत्रीपूर्ण र लोकतन्त्रप्रति विश्वास भएका सबै राजनीतिक दल नेपाली कांग्रेसका मित्र हुन् तर हत्या, हिंसा, लोकतन्त्र विरोधी गतिविधि भने नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य हुने छैन, सह्य हुने छैन। लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने नेपाली कांग्रेस कहिल्यै उदार हुन सक्दैन। उदारता र दलहरू प्रतिको सम्मान नेपाली कांग्रेसको सीमा हो तर दलीय पद्धतिप्रतिको विषवमन र उग्रता विरुद्ध भने नेपाली कांग्रेस दृढतापूर्वक चट्टान भएर उभिइरहने छ।
पार्टीको आन्तरिक लोकतन्त्र र सहचार्य अभिवृद्धि : नेपाली कांग्रेसलाई एक्काइसौँ शताब्दी अनुकूलको पार्टी बनाई उदाहरणीय लोकतान्त्रिक दलको रूपमा संगठित गरिने छ। यसका लागि सदस्यता वितरण प्रणालीलाई सुधार गर्दै लैजाने नीति अख्तियार गरिने छ। पार्टी भित्रका आन्तरिक विभाग तथा भातृसंस्था, पेशा व्यवसायी तथा शुभेच्छुक सङ्घसंस्थाहरूलाई सक्रिय र चलायमान बनाइने छ।
नेपाली कांग्रेस आफ्ना सदस्य, शुभेच्छुक, मतदाता तथा आमनागरिक बीचमा सहचार्य र स्वयंसेवी भावना अभिवृद्धि गर्नुपर्ने कुरालाई आत्मसात गर्दछ। साथै पार्टीका सम्पूर्ण सदस्यहरूबीच समानताको भावना जगाउँदै त्यसको प्रवद्र्धन गर्ने नीति अख्तियार गर्दछ। यस अतिरिक्त नेपाली कांग्रेसका नेता, सदस्य साथीहरू मात्र नभई मतदाता तथा आम नागरिकबीच सिधा प्रत्यक्ष संवाद गर्ने प्रणाली निर्माण अझै बढी सक्रियतापूर्वक लाग्न नेपाली कांग्रेस प्रतिवद्ध छ।
आन्तरिक शक्ति र आन्तरिक सुशासन : टोल, वडा, पालिका, जिल्ला, प्रदेश हुदै सङ्घीय तहसम्म विस्तारित संगठन र राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिवद्ध सदस्यहरू नेपाली कांग्रेसका पूँजी हुन्। यस्ता सदस्यलाई पार्टीको सिद्धान्त, आदर्श, विचार र देशको खासखास विशेषता, समस्या र वैचारिक रूपले तिनका समाधान गर्ने गम्भीर दायित्व बोध गराउन प्रशिक्षणहरु गराइने छ। पार्टी संगठन र सदस्यलाई राजनीतिक रूपमा निरन्तर क्रियाशील बनाई राष्ट्र निर्माणको अभिभारा उठाउन सक्ने सक्षम, सवल र प्रभावकारी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसलाई विकसित गरिने छ। अनुशासित, शिक्षित र प्रशिक्षित नेपाली कांग्रेसले मात्र देशलाई सुशासन र गति दिन सक्दछ। त्यसैले पार्टीको आन्तरिक शक्ति अभिवृद्धि गर्दै आन्तरिक सुशासन सुनिश्चित गर्ने थप नीति तय गरिने छ।
प्रकाशित: ८ फागुन २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =