लघुवित्तीय संस्थाको चुलिँदो खराब कर्जा

हिमाल प्रेस ८ फागुन २०८० १६:२४
6
SHARES
लघुवित्तीय संस्थाको चुलिँदो खराब कर्जा

काठमाडौँ– खराब कर्जा बढेपछि वित्तीय कम्पनीहरू घाटामा जान थालेका छन्। खराब कर्जाको चेपुवामा परेका लघुवित्त कम्पनीको वित्तीय चित्र थप बिग्रिँदो अवस्थामा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो। राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार पनि लघुवित्त कम्पनीहरू सहज अवस्थामा नरहेको पुष्टि गर्छ।

लघुवित्त कम्पनीहरू बढ्दो खराब कर्जाको दबाबमा देखिएको प्रतिवेदनमा उल्लेख छ। कम्पनीहरूको समयमै कर्जाको साँवा, किस्ता र ब्याज नउठ्दा खराब कर्जाको बढोत्तरी रोकिएको छैन। अर्थविद्हरू लघुवित्त कम्पनीहरूको वित्तीय अवस्था सामान्य अवस्थामा आउन समय लाग्ने  बताउँछन्।

आर्थिक वर्षको माघ मसान्तसम्म ५५ वटा कम्पनीहरूको वित्तीय प्रतिवेदनअनुसार आधा दर्जनबाहेक सबैको नाफा घटेको राष्ट्र बैंकको तथ्यांकमा छ। गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीहरूको नाफा ४८ प्रतिशत घटेको छ। कम्पनीको खराब कर्जा पनि १८.१४ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । विगतका वर्षको तुलनामा कम्पनीको यस्तो आम्दानी आधा घटेको हो।

अधिकांश कम्पनीहरूको खराब कर्जा नियन्त्रणबाहिर जान थालेको तथ्यांक छ। हाल वित्तीय कम्पनीहरूको औसत खराब कर्जा ६.७१ प्रतिशतमाथि छ। कम्पनीको खराब कर्जा योभन्दा तल पुग्नसक्ने बैंकको प्रक्षेपण छ।

प्रवक्ता गुणकर भट्ट कम्पनीहरूको बढ्दो खराब कर्जाले नाफालगायतका सूचकहरूमा नकारात्मक प्रभाव परेको राष्ट्र बैंकका बताउँछन्। सरकारले यो क्षेत्रलाई गम्भीर रूपमा लिई प्राथमिकतामा राखेर देशकै अर्थतन्त्र उकास्न लागेको उनले बताए।

‘पछिल्लो समय पैसा ऋण मिनाहा हुनुपर्छ भन्दै आन्दोलन भइरहेका छन्। यसको प्रभाव पनि परेको होला। हामीले बचतकर्तालाई अरूको भड्काउमा नलाग्न पनि सुझाव दिँदै आएका छौँ’, भट्ट भन्छन्। आर्थिक मन्दी कम हुँदै गएपछि यस्ता समाधान हुँदै जाने उनको विश्वास छ। अधिकांश कम्पनीहरूको नाफासँगै प्रतिसेयर आम्दानीमा गिरावट आएका कारण नियमनमा समस्या रहेको भट्ट बताउँछन्।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव लघुवित्तलाई डेभलपमेन्ट एजेन्सीका रूपमा सञ्चालन नगरेका कारण समस्या देखिएको बताउँछन्। उनी भन्छन्, ‘सरकारले क्षमता, जनचेतना अभिवृद्धिजस्ता कार्यक्रममा लघुवित्तलाई जोडेको छैन। लघुवित्तलाई व्यवसायीकरण मात्रै होइन सामाजिक र वित्तीय दुवै क्षेत्रसँग सन्तुलन गरेर लैजानुपर्छ।’

बढ्दो खराब कर्जाले थलिएका लघुवित्त कम्पनीहरु गाह्रो अवस्थामा गुज्रिरहेको उनले बताए। ‘लघुवित्तविरुद्ध हुने आन्दोलन र अपवाह फैलाउने प्रवृत्ति नियन्त्रण नगर्दा यस क्षेत्रमा समस्या बढ्दै गएको छ। आन्दोलनले चुक्ता गर्न सक्ने ऋणीहरूलाई पनि भड्काइरहेको छ। क्षमता हुँदाहुँदै पनि ऋण मिनाहा होला कि भनेर ब्याज, किस्ता तिर्न आनकानी गरिरहेका छन्’, उनले भने। गाउँगाउँमा पहुँच रहेको लघुवित्त क्षेत्रका समस्यामा सरकारले चासो नदेखिँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासमा १४ वटा लघुवित्त कम्पनीहरू नोक्सानीमा छन्। यसरी घाटामा रहेका लघुवित्तहरूमा आशा लघुवित्त, सामुदायिक, किसान, एनएमबी, मनकामना स्मार्ट, धौलागिरी, फरवार्ड, उपकार, मानुषीलगायत छन्। यी कम्पनीको प्रतिसेयर आम्दानी २६७ रुपैयाँ ८० पैसा ऋणात्मक छ।

सबैभन्दा धेरै नोक्सानी सिर्जनशील लघुवित्तले व्यहोरेको छ। कम्पनी १४ करोड ६३ लाख घाटामा पुगेको बैंकको तथ्यांकमा छ। बैंकको तथ्यांकमा अन्य १३ लघुवित्त संस्था १० करोडभन्दा बढी नोक्सानीमा पुगेको बैंकको तथ्यांकमा छ।

प्रकाशित: ८ फागुन २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =