गणतन्त्र नेपालीले सात दशक संघर्ष गर्दाको उपलब्धि : राष्ट्रपति

हिमाल प्रेस ७ फागुन २०८० ६:५५
2
SHARE
गणतन्त्र नेपालीले सात दशक संघर्ष गर्दाको उपलब्धि : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो भनेका छन्।

‘विसं २००७ को क्रान्ति सफल भएर निरंकुशताविरुद्धको बलिदानीपूर्ण संघर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ’, शुभकामना सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा शहीको बलिदानबाट स्थापित गरेको हुनाले यो दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ।’

लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको महत्त्वपूर्ण जग २००७ सालको क्रान्ति थियो भन्ने बिर्सन नहुनेमा राष्ट्रपति पौडेलले जोड दिएका छन्।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपतिले प्रजातन्त्र दिवसले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ७ फागुन २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =