जलविद्युत् र पर्यटन पूर्वाधारमा लगानी गर्न चन्द्र ढकालको आह्वान

हिमाल प्रेस २ फागुन २०८० २०:५१
2
SHARE
जलविद्युत् र पर्यटन पूर्वाधारमा लगानी गर्न चन्द्र ढकालको आह्वान चन्द्र ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

यूएईको दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरूमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन विश्वभरका लगानीकर्ताहरूलाई आह्वान गरेका हुन्।

उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए।

‘नेपाल सरकारले यही अप्रिल २८/२९ मा आयोजना गर्न लागेको नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने, ‘विभिन्न सम्भावित साझेदार मुलुकहरूसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ। यसले दुई देशबीच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ।’

उनले यसको सदुपयोग गर्न लगानी सम्मेलन २०२४ मा सहभागी हुन र यसको फाइदा लिन समेत आग्रह गरे।

सेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनीतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरेका थिए।

प्रकाशित: २ फागुन २०८० २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast