शैक्षिक संस्थाहरूमा चन्दा आतंक मच्चाउने गिरोह प्रहरीको फन्दामा

हिमाल प्रेस २ फागुन २०८० ११:५३
50
SHARES
शैक्षिक संस्थाहरूमा चन्दा आतंक मच्चाउने गिरोह प्रहरीको फन्दामा

इटहरी- पूर्वका शैक्षिक संस्थाहरूमा चन्दा आतंक सिर्जना गर्ने र नदिए विष्फोटक पदार्थ राखेर ध्वंसात्मक गतिविधि गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।

भूमिगत संगठनको नाममा महासचिव महावीरको दस्तखत भएको नेकपा माओवादी लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए विष्फोटक पदार्थ राखेर आतंक सिर्जना गर्ने गिरोहका सदस्य सक्रिय रहेको पाइएको हो।

शैक्षिक संस्थाहरूलाई धाकधम्की दिई भूमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ।

मोरङ तथा अन्य जिल्लाहरूमासमेत रहेका शैक्षिक संस्थाहरूमा भूमिगत संगठनका नाममा चन्दा माग गर्ने र नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ २९ गते २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा माङसेबुङ गाउँपालिका १ गजुरमुखी इलामका ३८ वर्षीय प्रविण मिश्र र याङवरक गाउँपालिका १ च्याङथापु पाँचथरका ३० वर्षीय विपिन अधिकारी रहेका छन्।

पक्राउ परेका मिश्रको साथबाट बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ इन्च लामो डेडकर्ड, सोडा आधा किलो, सहयोग रसिद २ ठेली, आर्थिक सहयोग सम्बन्धी लेखिएको पत्र ५ थान, मुक्तिनाथ प्रकाशनको प्रेस कार्ड, मोबाइल ३ थान र एनसेलका सीमहरू ५ थान बरामद गरिएको छ।

यसैगरी अधिकारीको साथबाट काटिएको र नकाटिएको सहयोग रसिद १–१ थान, मुक्तिनाथ प्रकाशनको प्रेस कार्ड, एसबिआई बैँकको चेकबुक, मोबाइल १ थान र डिजिटल स्टाम्प १ थान बरामद भएको छ।

पक्राउ परेका दुईजनाले विराटनगर ३ मा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो बनाई राखेको र उक्त वस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

‘सुनसरी र झापाका शैक्षिक संघ-संस्थाहरूमा चन्दा असुली गरेको सूचना थियो।

उक्त समूह झापापछि मोरङ आएको हामीले सूचना पाएका थियौँ। चन्दा असुलीको पत्र पठाएको जानकारी पायौँ र त्यसपछि पक्राउ गर्न विशेष प्रहरी परिचालन गरियो’ मोरङका एसपी दीपक पोखरेलले भने, ‘चन्दा नदिने शैक्षिक संस्थाअगाडि पनि विष्फोट गराउने उनीहरूको उद्देश्य थियो। त्यो हामीले पूरा हुन दिएनौँ। बेलैमा सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिन सफल भएका छौँ।’

दुवैजना आपराधिक पृष्ठभूमिका

दुवै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ।

मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ। एसपी पोखरेलका अनुसार मिश्रविरुद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थसम्बन्धी ४ वटा मुद्दा चलेको पाइएको छ। अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको उनले बताए।

‘दुवै जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्’ एसपी पोखरेलले भने, ‘पछिल्लो समय नयाँ भूमिगत संगठनमा आबद्ध भएर चन्दा आतंक मच्चाइरहेको पाइएको छ।’ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ फागुन २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast