राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस

हिमाल प्रेस २९ माघ २०८० ११:४३
8
SHARES
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताए।

उनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवर्द्धन गर्न, विभिन्न जात जाती, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय एकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न आग्रह गरे।

राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुव्यवस्था कायम गर्न एवम् सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति कायम गर्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताए।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम व्यवस्था भएको राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र सुरक्षालगायतका संवेदनशील कार्यमा आफ्नो रणनीतिक दृष्टिकोणसहित ठोस सुझावहरू प्रस्तुत गरेकोमा खुसी व्यक्त गरे।

नेपालको संविधानको धारा २६६को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले परिषद्ले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

प्रतिवेदन पेस समारोहमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,अर्थमन्त्री प्रकाशशरण महतलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast