सूर्य दर्शन सहकारी ठगी प्रकरण : सन्चालक समिति सदस्य भट्टराई पक्राउ

हिमाल प्रेस २७ माघ २०८० ९:४५
18
SHARES
सूर्य दर्शन सहकारी ठगी प्रकरण : सन्चालक समिति सदस्य भट्टराई पक्राउ पक्राउ परेका सूदर्शन सहकारी सदस्य प्रमोद भट्टराई।

पोखरा- सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना एवं ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सहकारीका सन्चालक समिति सदस्य प्रमोद भट्टराई हुन्।

सुनसरीको इनरुवा नगरपालिका वडा ५ घर भएका ३० वर्षीय भट्टराईलाई २ दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरी गोकर्णेश्वरबाट पक्राउ गरेकोमा थप अनुसन्धानका लागि पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ।

सहकारीका १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएकोमा अनुसन्धानका क्रममा प्रहरीले सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तीमध्ये यसअघि ४ जना मात्र पक्राउ परेका थिए।

पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल हुन्। उनीहरु कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन्।

संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार छन्।

संस्थापक अध्यक्ष जीबी राई, पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ।

सहकारी पीडितले गत सातामात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जन, लेखनाथका व्यवसायी नेत्रपाणी बास्तोला तथा १४ कम्पनी गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन्।

२०६५ सालदेखि पोखरामा सन्चालित उक्त सहकारीका १८ हजार ७ सय बचतकर्ता छन् ।

प्रकाशित: २७ माघ २०८० ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast