पहिरोमा पुरिएकाको उद्धार गर्दै फिलिपिन्स सेना। तस्बिर फिलिपिन्स सेनाको फेसबुक पेजबाट।
मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्र दाभाओ दि ओरो प्रान्तको एक खानीमा मंगलबार गएको पहिरोमा पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन्।
जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोबाट करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ।
सेनाको पूर्वकमाण्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलका अनुसार उक्त क्षेत्रमा रहेको एक खानी कम्पनीका थप ४१ जना कर्मचारी अझै बेपत्ता छन्। म्यानुएलकाे भनाइमा ४५ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरूलाई तत्काल हवाई मार्ग हुँदै उपचारका लागि पठाउने तयारी भइरहेको छ।
बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास जारी रहेको एपेक्स माइन्स फर्मलाई उद्धृत गर्दै उनले बताइन्। ‘घटनास्थल नजिकै रहेका करिब ६०० जनालाई सुरक्षित स्थानमा सारिएको छ,’ म्यानुएलले भनिन्।रासस/सिन्ह्वा



