छोरै चाहिन्छ भन्ने छैन

कृष्णबहादुर थापा २३ माघ २०८० १३:२२
692
SHARES
छोरै चाहिन्छ भन्ने छैन

हाम्रो पालमा सानै उमेरमा विवाह हुन्थ्यो। मलाई त विवाहको सम्झना पनि छैन। मेरो समयमा समाजमा छोरी जन्मँदा उसका बाबुआमाप्रति हेर्ने दृष्टिकोण गलत थियो।सन्तान जन्मनेबित्तिकै के जन्मिएको हो भनेर सोध्ने गरिन्थ्यो। त्यो चलन कायमै छ। यस्तो प्रवृत्ति राम्रो हुँदै होइन।

छोरा र छोरीबीच हुने विभेद भनेको सामाजिक समस्या हो। यस्तो समस्या कर्णालीमा पनि धेरै छ। छोरा पाउने आशामा धेरै सन्तान जन्माउने र छोरीको भ्रूणहत्या गर्ने प्रचलन कायमै छ। नयाँ पुस्ता र शिक्षित व्यक्तिहरूले पनि यस्ता कुप्रवृत्तिलाई साथ दिइरहेका छन्। यस्ता गतिविधिले हाम्रो समाजमा नकारात्मक प्रभाव परेको छ।

घरका सदस्य पनि छोरी जन्मिएको छ भने देखावटी खुसी मात्रै व्यक्त गर्छन्। छोरा जन्मिँदा परिवारमा जुन उल्लास हुन्छ, छोरी जन्मँदा पटक्कै त्यस्तो पाइँदैन। जन्म, छैटी, न्वारान, जन्मोत्सवजस्ता संस्कारमा पनि छोरा र छोरीबीच भेदभाव भइरहेको छ। केही बाबुआमा बुढेसकालको सहारा बन्छ भनेर छोरालाई राम्रो स्कुलमा पढाउने, उसले जे भन्छ त्यही पूरा गरिदिने गर्छन्। बुढेसकालमा त्यही छोराले बाबुआमालाई तिरस्कार गर्दा उनीहरू पछुताउनुपर्छ।

त्यति मात्रै होइन छोरी जन्माउने आमालाई राम्रो मानिँदैन। छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिनु भनेको एउटा कुरीति हो। यही कारण अझै पनि धेरै छोरीहरू जन्मनुभन्दा पहिल्यै मर्न बाध्य भएका छन्। छोरा वा छोरी के जन्माउने भन्ने विषयमा आमाको कुनै भूमिका नै हुँदैन भन्ने थाहा पाएर पनि किन यस्तो गरिएको होला?

समाज परिवर्तनमा महिलाको ठूलो भूमिका हुन्छ। तिनै महिलाले छोरा नजन्माएका कारण घरेलु हिंसाको मारमा पर्नुपरेको छ। बहुविवाह र बालविवाह जस्ता समस्या कायमै छन्। छोराछोरीको विभेदले महिलाको जीवनलाई खतरामा पार्ने काम गरिरहेको छ।

परिवारमा छोरा जन्माउनुपर्छ भनेर उच्च दबाब दिनेमा पुरुषभन्दा महिला नै हुने गरेका छन्। छोराको चाहनामा धेरै सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर परेको हुन्छ। अनि आमाले म के जन्माउँछु भनेर छनोट गर्ने अधिकार उल्लंघन भएको छ। यसबाट समाजमा हिंसासमेत निम्त्याइरहेको छ। कतिपय पुरुषले छोराको लोभमा पत्नीमाथि सौता हालेका छन्। यस्तो हुनुमा छोरीलाई अवमूल्यन गर्ने, पैतृक सम्पत्ति, दाइजो प्रथा जस्ता प्रवृत्ति पनि कारक छन्।

लैंगिक समानता सुनिश्चित गर्ने संवैधानिक र कानुनी प्रावधान बलियो छ। तापनि सामाजिक सोचाइमा त्यस्तो परिवर्तन भएको पाइँदैन। यस्तो सोचाइ परिवर्तन नभएसम्म समाजको उन्नति कसरी होला? सामाजिक तथा आर्थिक रूपमा छोरीछोराको समान महत्त्व नहुन्जेल भेदभाव भइरहनेछ।

सामाजिक विभेदको एउटा मूल कारण लिंगका आधारमा महिला र पुरुषलाई भिन्न व्यवहार गरिने प्रचलन हो। समाजमा छोराको महत्त्व दिएका कतिपय आमाबुबा तिनै छोराका कारण वृद्धाश्रममा बस्नुपरेको छ।

वृद्धवृद्धाका लागि छोरा या छोरी जे भए पनि उस्तै हो। उत्तरार्ध हुँदै गएपछि आफ्ना छोराछोरी र नातिनातिनाको निकै माया लाग्छ। छोरानाति भेट्न नपाउँदा वृद्धवृद्धाको मन साह्रै अमिलो हुन्छ। किनभने माया त तलतल जाने कुरा हो। हिजो मलाई छोराछोरीको बढी माया लाग्थ्यो। अहिले नातिनातिनाको लाग्छ। यस्तो अवस्था सबैले भोग्नुपर्छ। सम्पत्तिको लोभमा बाबुछोराबीच वैमनस्य भएको, छोराले बाबुलाई वृद्धाश्रममा राखिदिएको जस्ता समाचार पनि सुन्न पाइन्छ।

मैले २०१६ सालमा एसएलसी पास गरेको हुँ। त्यसपछि १६ वर्षसम्म गैरसरकारी संस्थामा काग गरेँ। २०३१ सालमा नासुमा जागिर खान थालेँ। २०५६ सालमा अवकाश भएको हुँ। मैले २३ जना सीडीओसँग काम गर्ने अवसर पाएको छु। छोरा पाउनकै लागि पुरुषले बहुविवाह गरेका धेरै घटना छन्। मैले पनि छोराको चाहनामा दोस्रो बिहे गरेको हुँ। त्यति बेला समाज र परिवारमा मलाई निकै दबाब थियो।

छोरा जन्मँदा परिवार निकै खुसी भएको थियो। दुई पत्नीबाट गरी मेरा चार छोरी र एक छोरा छन्। उनीहरू अहिले सबैले आआफ्नो काम गरेर जीविकोपार्जन गरिरहेका छन्। केही महिनायता म दम र मुटुको समस्याबाट पीडित छु। बुढेसकालको सहारा यति बेला छोरीहरू साथमा छन्। उनीहरूले नै मेरो स्याहार गर्छन्। छोरा वा छोरी जे जन्मिए पनि आफ्नै सन्तान हुन्। उनीहरूलाई असल संस्कृति सिकाउनुपर्छ। पढाउनुपर्छ। अनि मात्रै छोरा र छोरीबीच हुने भेदभाव कम हुँदै जानेछ।

[वीरेन्द्रनगरको कोपिला भ्याली स्कुलका अध्यक्ष ८५  वर्षीय थापासँग रमा केसीले गरेको कुराकानीमा आधारित]

प्रकाशित: २३ माघ २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast