
काठमाडौँ- ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ। क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा भएको महोत्सवमा सोमबार सर्वोत्कृष्ट चलिचित्र उपाधि प्रदान गरिएको हो।
सतीदेवीले ५० हजार रुपैयाँ नगद पुरस्कार समेत जितेको छ। यो चलचित्र महोत्सवको प्रतिस्पर्धामा सहभागिता जनाएको भए पनि सार्वजनिक प्रदर्शनमा आउन बाँकी छ।
त्यस्तै शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक उपाधि पनि ‘सतीदेवी’बाटै निर्देशक लक्ष्मण सुवेदीले प्राप्त गरेका छन्। स्वर्गीय शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा. अभिषेक रेग्मीले पिताको नाममा हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रको उपाधि डा. सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ। वृत्तचित्रले नगद २५ हजार पुरस्कार समेत प्राप्त गरेको छ।
त्यस्तै सर्वोत्कृष्ट लघु चलचिको उपाधि प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ प्राप्त गरेको छ। यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ। त्यस्तो सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिष शाहले प्राप्त गरेका छन्।