नियात्रा

टीकाभैरव-दक्षिणकाली पदयात्रामा पाएको आनन्द

अमृतप्रसाद पौड्याल २० माघ २०८० १३:३२
64
SHARES
टीकाभैरव-दक्षिणकाली पदयात्रामा पाएको आनन्द

हरियाली, खुला एवं स्वच्छ वातावरणले सुसज्जित स्थानका उकाली अनि ओरालीमा केही घण्टा पैदल हिँड्दा शारीरिक साथै मानसिक रूपमा समेत फाइदा हुन्छ। ‘भाइबर’ नामक एक सामाजिक भित्तोमा अंकित ‘हाइक फर हेल्थ’ नामक समूहमा जोडिएका हिँडन्ते सदस्यहरूले एकदिने ‘हाइक’ का लागि रमणीय स्थान वरपर चहार्ने योजना बनायौँ। त्यही योजना फत्ते गर्न हिँड्न मेसो मिलेका हामी तीनजना पुस महिनाको अन्तिम शुक्रबार बिहान आठ बजे काठमाडौँको चाबहिलबाट ललितपुरको टीकाभैरवतर्फ ट्याक्सीमा हान्नियौँ।

हाम्रो गन्तव्य काठमाडौँको दक्षिणकाली थियो। टीकाभैरव पुगेपछि त्यहाँ केहीबेर अलमलियौँ। मन्दिरबाट करिब दुई सय मिटर दक्षिण हेटौँडा जाने कान्तिराजपथको बाटोमा चियाचौतारीका साहुजीलगायत अन्य केही व्यक्तिलाई दक्षिणकाली पुग्ने बाटोको बारेमा सोधीखोजी गर्‍यौँ। उनीहरूले हामीलाई धुसेलतर्फ जान सुझाव दिए। त्यो बाटोतर्फ लाग्दा घडीमा साढे नौ बजेको थियो।

यात्राको सुरुमै बाटोबाट देबे्रतर्फ रहेको भिरमा केही लहरायुक्त वनस्पतिमा रातो फल लटरम्म देखियो। त्यसबारे सोधखोज गर्न खोज्दा कोही भेटिएन। हामी अगाडि बढ्यौँ। बाटो फराकिलो र कच्ची थियो। नजिकै बालुवा प्रशोधन गर्ने उद्योग रहेछन्। फाट्टफुट्ट केही मोटरसाइकल र टिपर चले तापनि पदयात्रामा खासै कठिन भएन।

बाटोसँग जोडिएका कान्ला अनि भिरमा अधिकांश सल्लाका रूख देखिन्थे। ठाउँठाउँमा लप्सीका बोटसमेत भेटिए। उत्तरतर्फ देखिएका हिमालको झलकले यात्रालाई रोमाञ्चक बनाइरहेको थियो। वरिपरि एकपछि अर्काे गर्दै एकआपसमा मिलेर रहेका डाँडाका क्षितिजबाट हिमाली दृश्य भने त्यति राम्रोसँग देखिएन। कारण आकाश तुवाँलोले ढाकेको थियो।

सीधा दक्षिणतर्फ आकर्षक जंगल थियो। हामी क्रमशः पश्चिमतर्फ अगाडि बढ्दै जाँदा नेपाल आर्ट भिलेज जाने बाटोको संकेत भेटियो। बोर्डलाई दाहिने छाडी घुमाउरो कच्ची मोटरबाटो समाउँदै हामी अगाडि बढ्यौँ। हामी सकेसम्म छोटो गोरेटो मार्गबाट घुमाउरो बाटोलाई ठाउँठाउँमा छिचोल्न खोज्थ्यौँ। गोरेटोको निसाना देखिएमा काँडाजन्य वनस्पति, झाडी एवं बुट्यानहरुलाई पन्छाउँदै अगाडि बढ्यौँ।

मार्गमा देखिएका साइनबोर्डमा ठाउँका नाम हेर्ने र सो नभएमा दायाँबायाँ रहेका घरपसलमा भेटिएका स्थानीयसँग सोध्थ्यौँ। ‘यो गाउँको नाम के हो, यो बाटोबाट दक्षिणकाली पुगिन्छ? दक्षिणकाली पुग्न कति समय लाग्ला?’ लगायतका जिज्ञासाका उत्तरले हिँडेको स्थानको जानकारी पाइँदो रहेछ भने यात्राको रफ्तारलाई सन्तुलित बनाउने रहेछ।

यसै क्रममा हामी काफलगाउँमा पुग्यौँ। काफलका बोट देख्न पाइने अभिलाषाले ‘काफल गाउँमा काफलका रूख कता छन् त?’ भेटिएका स्थानीयसँग जिज्ञासा राख्यौँ। उनीहरूले पनि अनविज्ञता प्रकट गरिरहका थिए। ‘काफल पाइने सिजनमा आउनुस् न, हामी टन्ने काफल दिन्छौँ’ भन्दै थिए खेलिरहेका केही केटाकेटी।

ओरालीउकाली हुँदै गाउँको मध्यभागबाट हिँडिरहँदा गोठमा गाईबस्तु पालेको र आँगनमा बिस्कुन सुकाएको देखिन्थ्यो। नजिकैका बारीमा तरकारी एवं फूल लहलहाएका थिए। मानिस आँगन, बारी र खेतमा काम गरिरहेका भेटिन्थे। आधुनिक घरले गाउँलाई ढाक्दै रहेछ। ढुंगामाटोका पुराना घरहरू भने कमैमात्र देखिए।

बागमती नदी गोदावरी नगरपालिका-९को डुकुछाप पश्चिमतर्फ बग्दै थियो। हामी त्यही पश्चिम दिशातर्फ हिँड्दै गर्दा ढकमक्क तोरी फुलेको बारी देखिन थाल्यो। गाउँको बीचमा पहेँलो तोरीबारी र वरिपरि रुखबुट्यानले उक्त स्थान मनमोहक थियो। मोटरबाटो छोडी तोरीबारी छेउछेउ हुँदै हामी पश्चिमतर्फ लाग्यौँ।

यात्रामा छोटो बाटो पछ्याउँदै ढिस्कोमा उक्लिँदा हामी एउटा भिरमा पुग्यौँ। पश्चिम दक्षिणतर्फ ठिक मुनिपट्टि गहिरोमा बागमतीले फन्को मारिरहेको थियो। हामी उभिएको भिरको माथिल्लो भागसम्म पनि खोला सुसाएको आवाज आइरहेको थियो। पूर्वतर्फ आकर्षक हरियालीसहितको जंगल देखियो। भिरको बाटोमा एकजना मात्र हिँड्न मिल्दो रहेछ। हिँड्दा पाइला चिप्लिएमा सोझै तल खोलामा पुग्न बेर लाग्ने रहेनछ। भिरमा उभिएर तलतिर हेर्दा कहाली लाग्यो। यद्यपि यात्रा रोमाञ्चक र अविस्मरणीय भइरहेको थियो।

पहराको काखमा बनेका कच्ची बाटो रुखबुट्यानले घेरेका थिए। शीतले भिजेको माटोमा टिपरका टायरको डोब अंकित थिए। सवा बाह्र बजे हामीले कटुवाल दह खोज्न थाल्यौँ। यस क्रममा पहिले करुणामय पीठ मन्दिर र संकटा पीठ मन्दिरतर्फ लाग्यौँ। हालसालै निर्माण सम्पन्न भएको करुणामय पीठ मन्दिर आकर्षक रहेछ। मन्दिर परिसरमा नेवार समुदायका एक परिवार पिकनिक मनाउन जम्मा भएका थिए। मन्दिरका बारेमा सोध्दा उनीहरूमध्ये एक महिलाले उक्त मन्दिर रातो मच्छिन्द्रनाथसँग जोडिएको कुरा बताइन्। अनि हामीलाई त्यहाँबाट अलिक अगाडि संकटा मन्दिरतर्फ जान सल्लाह दिइन्।

दक्षिणतर्फ लागेपछि बागमतीको तीरमा संकटा मन्दिर रहेछ। एउटा खाजा घरको नामको मुनिपट्टि उक्त स्थान कटुवाल दह भनी लेखिएको थियो। सिँढी ओर्लँदै हामी संकटाको दर्शन गर्न गयौँ। बागमतीको ठिक किनारमा पश्चिमतर्फ रहेकी संकटाको मूर्ति सीधा राखिएको पाँचऔँलासहितको हत्केला आकारमा रूखको फेदमा रहेछ।

सँगै बागमतीमाथि झोलुंगे पुल थियो। हामीले गहिरो खाडलमा पानी जमेको, वरिपरि माटाको ढिस्को, ढुंगाका गार्‍हा वा सिमेन्टको संरचनाले घेरिएको टौदह देखेका थियौँ। कटुवाल दह पनि त्यस्तै होला भनेर परिकल्पना गर्दै अघि बढेका थियौँ। त्यही ठाउँ कटुवाल दह रहेको थाहा पाएपछि आश्चर्यमा पर्‍यौँ। खाजा घरभित्र ह्विलचेयरमा बसिरहेका एक व्यक्तिले सो स्थान नै कटुवाल दह रहेको जानकारी दिए। उत्तरबाट बग्दै आएको बागमती नदी त्यस स्थानमा ठूलाठूला ढुंगाको बीचबाट बग्दा दह बनेको रहेछ। त्यही पानी जमेको ठाउँलाई कटुवाल दह भनिँदो रहेछ।

नेपालभाषामा ‘क्वः दुहाः दहः’ भनिने उक्त स्थानबाट हामी फर्पिङतर्फ लाग्यौँ। झोलुंगे पुलबाट तल हेर्दा तैरिएको सेतो फिँज, ह्वास्स फोहोरको गन्ध र कालो रङको पानी लिएर बगेकी बागमती नदीको अवस्थाले भने हामी प्राकृतिक सम्पदाको सही व्यवस्थापनमा कति निर्दयी रहेछौँ भन्ने स्पष्ट भयो। तथापि हरियो जंगलको बीचमा, स्वच्छ एवं सफा वातावरण रहेको उक्त स्थानमा हिँड्दै र आराम गर्दै केही घण्न्टा बिताउँदा हामीलाई आनन्दको अनुभूति भयो। अझ धर्म र संस्कृतिको पहिचानलाई जीवन्त राख्ने मन्दिर, घाट, खोला, देवीदेवताका मूर्तिहरूसँगको सामीप्यताले मन शान्त नबनाउने त कुरै छैन।

बागमतीपारि निर्माणाधीन दु्रतमार्गको प्रवेश स्थानतर्फ करिब १५ मिनेट हिँडेपछि हामी पश्चिमतर्फ लाग्यौँ। डाँडो उक्लिँदा दुरी छोट्याउने उही शैलीमा केही अप्ठ्यारा भिर पनि चढ्यौँ। त्यसपछि हामी कोपुगाउँमा पुग्यौँ। पछाडि फर्केर हेर्दा बगमतिले नागबेली लगाएको डुकुछापका हरिया फाँट, बिचमा दुइटा आकर्षक थुम्का, नीलो आकाशलाई चुम्दै क्षितिजमा हाँसिरहेका हरिया पहाड देखिए। ती दृश्यलाई क्यामेरामा कैद गर्दै हामी अगाडि बढ्यौँ।

गाउँ नपुग्दै बाँसको झ्याङ जोडिएको अमलाको बोटको छायामा एकछिन पानी खाँदै आराम गर्दा चलेको हावाले पसिनाले तातेको ज्यानलाई शीतल महसुस गराइरहेको थियो।

कोपुगाउँबाट निमिटोल हुँदै फर्पिङ पुग्दा हामीलाई रमणीय सल्लाघारीले स्वागत गर्‍यो। हावाले सल्लाको बासना फैलाइरहँदा हामीले सफा ढलाने बाटोमा पाइला चाल्न थाल्यौँ। यस क्रममा यात्राको आनन्द अनुभूतिमा केही कमी राख्न दिएनौँ। दक्षिणकाली नगरपालिकाको वडा नम्बर ७ कार्यालयको अगाडि पुग्दा फर्फिङको सडक भेटियो। सडकसँगै जोडिएका सिँढी ओर्लँदै दक्षिणकाली मन्दिरमा पुग्यौँ। मन्दिरलाई दर्शन गरी करिब चार बजे हामीले यात्रालाई बिट मार्‍यौँ।

हामीमध्ये एक यात्रीको चलाख दुरभाषयन्त्र (स्मार्ट मोबाइल) ले त्यस दिन हामीले २२ किलोमिटरको दुरी नाप्न करिब पैँतीस हजार सात सय पाइला हिँड्दै करिब छ घण्टा लगाएको जानकारी गरायो।

प्रकाशित: २० माघ २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast