सत्तारुढ सांसदबाटै सरकारको विरोध, मन्त्री किरातीमाथि १८ करोड भ्रष्टाचार गरेको आरोप

हिमाल प्रेस १३ फागुन २०८० १३:१४ | Sunday, February 25, 2024
सत्तारुढ सांसदबाटै सरकारको विरोध, मन्त्री किरातीमाथि १८ करोड भ्रष्टाचार गरेको आरोप

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार भ्रष्टाचारमा सक्रिय रहेको आरोप लगाएका छन्। उनले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको स्टन्टबाजी र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले धन्दा चलाउँदै भष्टाचार गरेको बताएका हुन्।

प्रतिनिधिसभामा आइतबार विशेष समयमा बोल्दै कांग्रेस सांसद खतिवडाले अन्यत्र गलत काम गरेका मन्त्री किरातीले कार्यकक्षमा झाडु लगाएर जनतामा भ्रम छर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

‘मन्त्रीजीले असाध्यै सुधार गर्न लागेको आभास मिलेको छ। एउटा झाडु र क्यामरा लिएर गएर फोटो खिची बाहिर ल्याउने पद्धतिको विकास भएको छ। यसरी मुलुक कहाँ जाने हो? सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टीभी लिएर जाने अनि त्यो भिडियो हाल्दिएपछि सबभन्दा क्रान्तिकारी र राम्रो हुने हो भने मुलुक कसरी विकास गर्ने ? त्यसमा सरकारको ध्यान जाओस्,’ उनले भने।

खतिवडाले किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप  बताए। उनले निगम आर्थिक रूपमा धराशयी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर डुबाउन  खोजेको बताए।  ‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने हो ? कुन अवस्थामा पुर्‍याउने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ’, उनले भने ।

नेपाल वायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने भनेको भन्दै सांसद खतिवडाले भने, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन। त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन्।’

नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उनले बताए। निगमका चारवटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा चलिरहेको भन्दै सांसद खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपैयाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको स्मरण गराए।

निगममा हाल १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङ गरिएका झण्डै ८०० कर्मचारी रहेको विवरण प्रस्तुत गर्दै खतिडाले भने, ‘वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको छ। जसलाई हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ।’

खतिवडाले सुशासनका नाममा ल्यारक्याल लामाजस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्त गरेको भन्दै विरोध जनाए। ‘गौतम बुद्ध शान्तिको दूत, उनैको नाममा लकरमा गोली राख्ने मान्छेलाई नियुक्ति गरेपछि देशको हालत के होला सभामुख महोदय?’ उनले प्रश्न गरे।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले सत्ता र प्रतिपक्षका रूपमा नभई नेपालका मन्त्रीले व्यक्तिगत स्वार्थमा काम गर्दा देशहित हुन नसक्ने बताए।

‘कामका आधारमा होइन दामका आधारमा नियुक्त हुन लागे। लुम्बिनी विकास कोषमा नियुक्त हुन पाएको छैन ९९ वर्षलाई सरकारी जग्गा भाडामा दिने काम सुरु भयो सभामुख महोदय,’ उनले भने। उनले यस्ता ठेक्कापट्टामा करोडौँ अनियमितता भइरहेको जनाए।

प्रकाशित: १३ फागुन २०८० १३:१४ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast