 
                            
                                            काठमाडौँ- ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन्। पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका उनलाई बिहीबार विशेष अदालतले सफाइ दिएको हो।
त्यस्तै तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त दोषी ठहर भएका छन्। ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएको छ। मन्त्रालयले गरेको नीतिगत निर्णयका आधारमा मात्र कसुर नदेखिएको भन्दै विशेष अदालतले गच्छदारलाई सफाइ दिएको हो ।
साथै पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई लाई पनि सफाइ दिएको छ। उनीहरूविरुद्ध आरोप दाबी पुष्टि हुन नसकेको अदालतले ठहर गरेको छ।
अदालतले तत्कालीन मालपोत अधिकृतहरू कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ। दोषी ठहर भएकाहरूलाई जनही ७५ लाख जरिबाना र २ वर्ष कैद सजाय सुनाइएको छ। त्यस्तै शोभाकान्त ढकाल, रामकुमार सुवेदी र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि दोषी ठहर भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतले यो प्रकरणमा करिब १३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला गरेको छ। यो फैसलासँगै व्यक्तिका नाममा रहेको ललितानिवासको जग्गा अब सरकारको नाममा फिर्ता गर्न बाटो खुलेको हो।
हेर्नुहोस् फैसलाको संक्षिप्त विवरण
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 