 
                             
                                            काठमाडौँ– कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्म ‘मोदीबेनी’को छायांकन सुरु गरिएको छ। अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ मुख्य भूमिकामा देखिने छन्।
अभिनेत्री शिवाकोटीले विगतमा गरेको भन्दा फरक भूमिकामा देखिन लागेको बताइन्। ‘मेरो भूमिका आजसम्म मैले गरिरहेको भन्दा एकदमै भिन्न छ। कथावस्तु पनि चलनचल्तीका फिल्महरुको भन्दा फरक छ। यो चलचित्र एक नयाँ प्रयोग पनि हुनसक्छ’, उनले भनिन्, ‘अहिले दर्शकले पनि केही फरक नै खोजिरहनुभएको छ। त्यसको लागि यो फिल्म उदाहरण बन्न सक्छ।’
ओजस थिएटरमा दुई वटा नाटकमा मुख्य भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रित’ नामक वेब सिरिजमा मुख्य भूमिकामा अभिनय गरेका छन्। अभिनेता श्रेष्ठले आफू पूर्ण रूपमा चलचित्रको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए।
करिब ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले यही कमब्याक गर्दैछिन्। उनको पछिल्लो फिल्म ‘वरदान’ हो। रेजिनाले फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन्।
उप्रेतीले यसबिचमा आफूलाई अफर आएका फिल्महरुमा भूमिका मन नपरेर अभिनय नगरेको बताइन्। उनले पनि आफूले अहिलेसम्म नगरेको सशक्त भूमिकामा अभिनय गर्न लागेको रेजिनाले बताइन्। अभिनेता दिलीप केसीले समाज परिवर्तनको लागि क्रान्ति गर्ने पात्रको भूमिकामा आफूले अभिनय गर्न लागेको बताए।
फिल्ममा अभिनेता सरोज खनालसहित कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ।
शंकर कोइरालाले निर्देशन गर्ने फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा बनाइएको छ। फिल्मको कथा आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्नेछ। दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 