भौतिक पूर्वाधारमन्त्री ज्वालामाथि राजीनामाको दबाब, छलफलमा डाके प्रधानमन्त्रीले

हिमाल प्रेस ६ फागुन २०८० १५:१२ | Sunday, February 18, 2024
भौतिक पूर्वाधारमन्त्री ज्वालामाथि राजीनामाको दबाब, छलफलमा डाके प्रधानमन्त्रीले

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि राजीनामाको दबाब बढेको छ। गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी भएको घटनामा दोषी देखिएको छानबिन आयोगको निष्कर्षपछि उनीमाथि राजीनामा दिनुपर्ने दबाब बढेको हो।

मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री ज्वालालाई आइतबार सिंहदरबारमा डाकेका छन्। संसद्‌मा पनि ज्वालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको थियो।

‘छानबिन समितिको प्रतिवेदनपछि प्रधानमन्त्री पनि ज्वालाको राजीनामा माग्ने पक्षमा देखिनुभएको छ। उहाँले सिंहदरबारमा डाक्नुभएको त्यही विषयमा छलफल गर्न होला’, स्रोतले भन्यो। प्रधानमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्री मन्त्री ज्वालालाई सिंहदरबारमा डाकेको जनाएको छ।

ललितपुरको बालकुमारी घटना छानबिन आयोगले ज्वालासहित तीनजनालाई दोषी देखाएको छ। आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको उल्लेख छ।

गत पुस १३ गते दुई युवकको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अछाम चौरपाटीका २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबुका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो। आयोगको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको उल्लेख छ।

सल्यानबाट प्रतिनिधिसभा चुनाव जितेका ज्वाला नेकपा एकीकृत समाजवादीका नेता हुन्। उनी गत वर्ष चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन्।

प्रकाशित: ६ फागुन २०८० १५:१२ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast