भरतपुरमा भूपू सैनिक सम्मेलन

हिमाल प्रेस ११ फागुन २०८० २१:०१ | Friday, February 23, 2024
भरतपुरमा भूपू सैनिक सम्मेलन

भरतपुर (चितवन)- प्रधानसेनापति प्रभुराम शर्माले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न सुझाव दिएका छन्। नेपाली सेना कल्याणकारी बोर्डद्वारा आज (शुक्रबार) यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजान आग्रह गरे।

अवकाशप्राप्त एवं बहालवाला सैनिकलाई आफ्नै गाउँ ठाउँमा प्रचुर सम्भावना भएको भन्दै सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लाग्न आह्वान गरे।

‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपू ९६ वर्षीय गंगाबहादुर सुनुवार र ज्येष्ठ एकल महिला ९८ वर्षीय गोमादेवी कार्कीलाई सम्मान गरियो।

कार्यक्रममा नेपाली सेनामा आफ्ना चार वा सोभन्दा बढी सन्ततिलाई भर्ना हुन प्रेरित गर्ने सातजना माता र पितालाई सम्मान गरियो। सो अवसरमा यस क्षेत्रमा बसोबास गर्ने फरक क्षमताका हिताधिकारीलाई व्हिल चेयर, वैशाखी तथा  नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको थियो।

सम्मेलनका क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियतदरमा उपलब्ध गराइएको रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान गरियो। भूपूसैनिकको जोसिलो मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी र सैनिक ब्यान्ड प्रदर्शनका साथै ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका मातापितालाई सम्मान र अन्तरक्रिया कार्यक्रम भएको सेनाले जनाएको छ।

प्रकाशित: ११ फागुन २०८० २१:०१ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast