फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै

हिमाल प्रेस १७ फागुन २०८० १५:१७ | Thursday, February 29, 2024
फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै फोहोर । फाइल तस्बिर

गोदावरी (कैलाली)-  कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ। चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ।

एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्पलेक्ससँग विसं २०७९ साउन २ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो।

केन्द्र निर्माणका लागि रू ५१ करोड ६९ लाख ७४ हजार चार सय ९९ मा ठेक्का सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए। उनका अनुसार हाल उक्त केन्द्रमा कम्पाउण्ड, फोहर फाल्ने ब्लक, फोहर प्रशोधनयन्त्रलगायत संरचना निर्माण भइरहेका छन्।

फोहरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहर सङ्कलन गर्नेदेखि लिएर डिस्पोजल गर्ने, प्युरिफाइ गर्ने र कुहिने फोहरबाट मल बनाइने तथा प्राङ्गारिक मल उत्पादन गरिने बताइएको छ।

सो परियोजनालाई ५० वर्षसम्म प्रयोग गर्न मिल्नेगरी योजना (डिजाइन) गरिएको सूचना अधिकारी कलौनीको भनाइ छ। केन्द्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ।

एसियाली विकास बैँक (एडीबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकासमार्फत धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ।

भीमदत्त नगरपालिकाले केन्द्र निर्माणका लागि अहिलेसम्म जग्गा प्राप्त गर्न नसकेकाले  काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १७ फागुन २०८० १५:१७ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast