 
                            
                                            काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले सुशासन कायम गरेको देखेर एकथरीलाई मन नपरेको टिप्पणी गरेका छन्। मंगलबार गोरखाली पत्रकारहरूसँग भेट गर्दै दाहालले देशभित्र सुशासन कायम भएको र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई थप चिनाएपछि माओवादी अगाडि जाने भयो भनेर असफल बनाउन खोज्नेहरू सक्रिय भएको बताएका हुन्।
‘देशभित्र सुशासन कायम भएको छ, अन्तराष्ट्रियमञ्चमा नेपाललाई थप चिनाउने र खोज्ने बनाएको छु,’ उनले भने, ‘दुनियाँकै नेतृत्वले नेपाललाई खोज्न थालेको छ। केही अघि युगान्डा जाँदा धेरैले हाम्रो कुरा सुन्न खोजे। यो राम्रो हो राम्रो भएको छ। तर, राजनीतिमा त राम्रो भएको त एकथरीलाई मन परेको छैन।’
उनले माओवादीले राम्रो गर्यो भनेर अन्य राजनीतिक दलका नेताहरू आत्तिएको पनि बताए। उनले भने, ‘अरु दलले माओवादीले राम्रो गर्यो भनेर आत्तिएका छन्। असफल बनाउनुपर्छ भनेर लागेका छन्।’
‘म प्रति अपेक्षा धेरै छ’
दाहालले गोरखालीहरूले आफूप्रति धेरै अपेक्षा गरेको पनि बताए। उनले यसअघिको नीति तथा कार्यक्रम र बजेट आउँदा गठबन्धन जोगाउने र संविधानको रक्षाका लागि सहकार्यको वातावरण बनाउन बढी ध्यान दिनुपरेकोले गोरखाको योजनाहरूमा आफूले धेरै ध्यान दिन नपाएको पनि बताए।
‘अहिलेको नीति योजनामा गोरखालाई मैले सोचेजति सम्बोधन गर्न पाइनँ,’ उनले थपे, ‘तर, आगामी बजेट र नीति योजनामा गोरखालाई कसरी सम्बोधन गर्ने भनेर मैले अहिलेदेखि नै कमान्ड लिइरहेको छु। भोलिको दिनमा सम्झिराख्ने खालका केही काम गर्नुपर्छ भनेर लागेको छु।’
‘बूढीगण्डकी जलविद्युत आयोजनाको छिटै शिलान्यास हुन्छ’
प्रधानमन्त्री दाहालले बूढीगण्डकी जलाशययुक्त आयोजनाको आर्थिक स्रोत सुनिश्चित भइसकेको र शिलान्यासको तयारी गरिरहेको पनि बताए। ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढी गण्डकी जलविद्युत आयोजनाको आर्थिक स्रोत सुनिश्चित भइसकेको छ। शिलान्यासको तयारी भइरहेको छ,’ उनले भने, ‘शिलान्यास गरिसकेपछि अब बन्छ भन्ने सन्देश पनि जान्छ र बन्छ पनि।’
‘गोरखामा कृषि पार्क’
दाहालले आफ्नो चीन भ्रमणको क्रममा गोरखामा कृषि प्रविधि पार्क निर्माणको विषयमा कुरा गरेको र अहिले त्यसको काम सुरु भइसकेको बताए। ‘मेरो चीन भ्रमणको समयमा कृषि प्रविधि पार्क निर्माणको कुरा भएको थियो। उनीहरूले भरतपुरमा बनाउने भनेर प्रस्ताव गरेका थिए। मैले म अहिले गोरखाको जनप्रतिनिधि हुँ। यो गोरखामा बनाउँ भनेर प्रस्ताव गरेको थिएँ। त्यसका लागि मैले गोरखामा आवश्यक जग्गासहितको टार (सम्म भूगोल) पनि भएकोले गोरखामै बनाउन जोड थिएँ,’ उनले थपे, ‘पार्क निर्माणको लागि टिम आइसकेको छ। रामपुर कृषि क्याम्पसमार्फत अध्ययन भइरहेको छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 