 
                             
                                            रमल्लाह (प्यालेस्टिनी अधीनस्थ क्षेत्र)- गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद श्तेयेहले सोमबार राजीनामा घोषणा गरेका छन्।
‘म सरकारको राजीनामा राष्ट्रपति महमुद अब्बासलाई बुझाउँछु’, प्रधानमन्त्री श्तेयेहले भने,‘यो राजीनामा गाजापट्टीविरुद्ध आक्रामकता र पश्चिम किनार तथा जेरुसेलममा तनावसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै आएको हो।
अक्टोबर ७ मा इजराइल र प्यालेस्टिनी इस्लामी आन्दोलन हमासबीच युद्ध सुरु भएपछि राष्ट्रपति अब्बासले बढ्दो आक्रोशको सामना गर्नु परेको छ। धेरै मानिसले इजराइली आक्रमण र पश्चिम किनारमा बढ्दो हिंसाको कडा निन्दा नगरेकामा प्यालेस्टिनी राष्ट्रपतिको आलोचना गरेका छन्।
पश्चिम किनारमा सीमित शक्तिको प्रयोग गर्ने प्यालेस्टिनी नेतृत्व अब्बासको प्यालेस्टिनी प्राधिकरण र गाजामा शासन गर्ने हमासबीच सन् २००७ पछि विभाजित भएको छ।अमेरिकालगायत धेरै मुलुकले गाजामा युद्ध समाप्त भएपछि सबै प्यालेस्टिनी क्षेत्रको जिम्मा लिने सुधारिएको प्यालेस्टिनी प्राधिकरणको आह्वान गरेपछि पश्चिम किनारमा सरकारको राजीनामा आएको हो।
श्तेयेहले राजीनामा घोषणा गर्दै एक संक्षित भाषणमा भने,‘अर्को चरण र यसका चुनौतीहरूका लागि गाजापट्टीमा नयाँ वास्तविकतालाई ध्यानमा राख्ने गरी नयाँ सरकारी र राजनीतिक उपायहरूको आवश्यकता छ।’ उनले अन्तर–प्यालेस्टिनी सहमति र ‘प्यालेस्टिनको सम्पूर्ण भूमिमा (प्यालेस्टिनी) प्राधिकरणको शासन विस्तार’ का लागि आह्वान गरेका छन्। रासस/एएफपी

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 