 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो इतिहासको गुणगान मात्र गाउन र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार सम्बोधन गर्दै कोइरालाले सबै समस्यालाई मार्गचित्रसहित भरोसायुक्त समाधान दिन आग्रह गरेका हुन्। उनले भने, ‘कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैन? यसबारे सूक्ष्म विश्लेषण गर्दै सक्षमताको खोजी गरौँ।’
महासमिति जस्तो महत्त्वपूर्ण कार्यक्रममा नेपाली कांग्रेसका २९ वटा संसदीय निर्वाचन क्षेत्र र केही भ्रातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधित्व नहुने अवस्था गम्भीर रहेको कोइरालाले बताए। यसैगरी उनले पार्टीको प्रतिवेदन र दस्ताबेजहरूमा गठबन्धनको छाया परेको हो कि जस्तो देखिएको बताए। ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरु कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो त्यो देखिएन’, कोइरालाले भने।
कांग्रेस पार्टीको विधानमा धेरै त्रुटि रहेको औँल्याउँदै उनले यसबाट सांगठनिक गतिविधिमा बाधा आइरहेको बताए। कोइरालाले महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेकोमा जोड दिए। कोइराललो भने, ‘महामन्त्रीज्यूको सांगठनिक प्रस्तावमा १५औँ महाधिवेशनको कार्यतालिका आएको छ। यो महासमितिको बैठकले त्यो कार्यान्वयनको सुनिश्चिता गरिनुपर्छ।’
पार्टीमा आएका प्रस्तावहरुमा राम्रा कुरा समेटिए पनि यतिले मात्रै युवामा आशा जगाउन नसकिने कोइरालाको भनाइ छ। रोजगारी सिर्जना, सुशासन कायम गर्ने, उद्योगी, व्यवसायीका माग संशोधन हुने गरी थप स्पष्ट हुनुपर्नेमा कोइरालाको जोड छ।
कृषि क्षेत्रमा मलखाद, सिँचाइ, बजारलगायतका कुराको संशोधन गर्ने गरी थुप्रै रोजगारीका अवसर सिर्जना गर्न सकिने कोइरालाको भनाइ छ। त्यसैगरी सूचना, प्रविधि क्षेत्रमा सफ्टवेयर निर्यात, डिजिटल नोम्याड लाई राम्रो वातावरण बनाएर र हाम्रो ऊर्जा र पर्यटन क्षेत्रलाई लगानीको माहोल सिर्जना गरेर दिगो रुपमा रोजगारी सिर्जना गर्न सकिने कोइरालाको सुझाव छ।
उनले भने, ‘रेमिट्यान्सको व्यावहारिक विकल्प केके हुन सक्छन्? रोजगारीका लागि मात्र नेपालीहरु विदेश जाँदैनन्। रोजगारीसँग नजोडिने सम्पन्नहरु पनि यहाँको वातावरण र निराशा देखेर पढ्न लगायत विभिन्न बहानामा बाहिरिने गर्दछन। यस विषयमा दस्तावेजमा उचित समाधान देखिएन।’
सामाजिक नीतितर्फ सामुदायिक विद्यालयको उत्थान, विश्वविद्यालयलाई राजनीति मुक्त र कक्षा सञ्चालनमा भन्दा अनुसन्धानमा प्राथमिकता, प्रभावकारी स्वास्थ्य बिमा, बृद्ध भत्तामा पुनरवलोकन, यातायातलाई राज्यको दायित्वमा लिनुपर्ने विषयमा पनि स्पष्ट हुनुपर्ने कोइरालाले बताए।
उनले भने, ‘पर्यटन प्रवर्धनमा हामीले जोड दिनुपर्यो। साथै अर्कोतर्फ बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक महत्त्व बोकेको देशमा धार्मिक पर्यटनलाई बढावा दिने ठोस नीति तथा कार्यक्रम ल्याइनुपर्छ।’
नेता कोइरालाले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनुशासनहीनताले सुशासनलाई सुनिश्चित गर्न नसकेको बताए। यसका लागि राज्यका विभिन्न अंगमा फैलिएको भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।
कोइरालाले भने, ‘मन्त्रिपरिषद्ले गर्ने सबै निणर्य नीतिगत नभई विषयगत र प्राविधिक पनि हुन सक्छन्। अनुसन्धान गर्ने निकाय, अदालत र कानुनबीचमा तालमेल नहुने हो र मन्त्रिपरिषद्का सबै निणर्यलाई नीतिगत मानेर भ्रष्टाचार छल्ने आधार बनाइन्छ भने लोकतान्त्रिक संविधान र लोकतन्त्र जनआक्रोशले संकटमा पुर्याउन सक्छ। यसमा कांग्रेसले बेलैमा विचार गर्नुपर्ने हुन्छ।’
कानुनको नजरमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गरिनुपर्ने कोइरालाले बताए। देशको विकास र सुशासनको प्रमुुख बाधक बेरोजगारी समस्या र युवा पलायन रहेकाले यसबारे विस्तृत अध्ययन गरी समस्या समाधानका सूत्र पहिल्याउन एक उच्चस्तरीय कार्यदल बनाउन कोइरालाले प्रस्ताव गरेका छन्।
सहकारी र लघुवित्तमा देखिएको देशव्यापी समस्याको परिणाममुखी समाधान खोज्दै पीडितलाई यथोचित न्याय दिनुपर्ने, देशको समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई सुनिश्चित गर्न अल्पकालीन र दीर्घकालीननीति निर्धारण गर्नुपर्ने सुझाव कोइरालाको छ।
कोइरालाले हरेक तहका निर्वाचनमा अबउप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठवन्धन वा तालमेल नहुने प्रस्ताव गरेका छन्। ‘अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन। तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरुसँग संवादका लागि नेपाली कांग्रेसले पहल गर्नुपर्छ।’
पार्टी र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि बीचमा समस्या चुलिँदो रहेकाले त्यसलाई समन्वय गर्न पार्टी तहमै स्थायी सयंन्त्र निर्माण गर्नुपर्ने कोइरालाको प्रस्ताव छ। उनले भने, ‘अधिवेशनबाट मात्रै लोकतान्त्रिक पार्टी जीवन्त रहने हुँदा पार्टीका सम्पूणर्ण भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरुको अधिवेशन यथासक्य छिटो गरिनुपर्छ र तदर्थवादबाट संगठन चलाउने मानसिकता त्याग्नुपर्छ।’ नेता कोइरालाले अब परम्परागत तरिकाले जनसम्पर्क समिति चल्न नसक्ने भएकाले यसलाई परिमार्जित तरिकाले चलाउन जरुरी रहेको बताए।
उनले भने, ‘जनसम्पर्क समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउनको लागी जनसम्पर्क समितिमध्येबाटै एकजना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान विधानमा राखिनुपर्छ।’ नेपाली जनसम्पर्क समितिको अन्तरराष्ट्रिय समिति (विश्व सञ्जाल) बनाई अन्तरराष्ट्रिय समितिको सभापतिलाई कांग्रेस केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था गर्न पनि कोइरालाले प्रस्ताव गरेका छन्। कोइरालाले भने, ‘यिनै विषयमा अविलम्ब ध्यान दिई महासमितिको बैठकलाई फलदायी एवं उपलब्धिमूलक बनाएर अघि बढ्दै अबदेखि पार्टीमा कसैप्रति कुनै प्रकारको अन्याय हुनेछैन भन्ने प्रत्याभूति दिन सक्नुपर्छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 