नामिबियासँग २० रनले पराजित भयो नेपाल

हिमाल प्रेस १५ फागुन २०८० १४:५७ | Tuesday, February 27, 2024
नामिबियासँग २० रनले पराजित भयो नेपाल

काठमाडौँ- नेपालमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत आज भएकाे खेलमा नेपाल नामिबियासँग पराजित भएकाे छ। त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २० रनकाे हार बेहोरेको हो।

नामिबियाले दिएकाे २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टाेली १८६ रनमा राेकियाे। नेपाल १८.५ ओभरमा अलआउट भयाे। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८, रोहितकुमार पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए।

नामिबियाका रुबेन ट्रम्पलम्यानले चार तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिंक र जान निकोल लफ्टी इटनले २–२ विकेट लिए। एटनको कीर्तिमानी शतकको मद्दतमा नेपालविरुद्ध नामिबियाले विशाल स्कोर खडा गरेको थियाे। एटनले टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो (कम बलमा) शतक प्रहार गर्ने विश्व रेकर्डसमेत कायम गरेका छन्।

एटनले ३३ बलमा नेपालविरुद्ध शतक प्रहार गरेका हुन्। उनले ११ चौका र ८ छक्काको मद्दतले शतक प्रहार गरे। यसअघि कुशल मल्लको नाममा यो विश्वकीर्तिमान थियो। मल्लले मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड कायम गरेका थिए। एटनले मल्लको उक्त विश्व रेकर्ड तोडिदिए।

त्यस्तै, नामिबियाका मिकेल भान लिङ्गेनले २० तथा मलान क्रुगरले नटआउट ५९ रन जोडे। जेपी कोट्जे ११ रनमा आउट हुँदा जान फ्राइलिङ्क ५ रनमा आउट भए। एटनले भने १०१ रन बनाउँदै आउट भएका थिए। त्यस्तै, जेजे स्मित भने १ रनमा नटआउट रहे।

प्रकाशित: १५ फागुन २०८० १४:५७ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast