तरलता हुँदासमेत लगानीको वातावरण बन्न सकेन : चेम्बर अध्यक्ष

हिमाल प्रेस ६ फागुन २०८० १८:३४ | Sunday, February 18, 2024
तरलता हुँदासमेत लगानीको वातावरण बन्न सकेन : चेम्बर अध्यक्ष

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन्।

राष्ट्रिय व्यापार संघको साधारणसभालाई सम्बोधन गर्दै उनले लगानीयोग्य रकम अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको बताएका हुन्।

‘बैंक वित्तीय संस्थामा झण्डै ५ खर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएर बसेको छ, सरकारले पुँजीगत खर्च गर्न सकेको छैन,’ उनले भने, ‘अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन।’

सरकारको पुँजीगत खर्च अपेक्षाअनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ। बैंक वित्तीय संस्थामा उच्च ब्याजदरकै कारण लगानी आकर्षित हुन नसकेको उनले बताए।

पुँजीगत खर्च समयमै हुने गरी समयबद्ध तालिका निर्धारण गर्नुपर्ने अध्यक्ष मल्लले बताए। ‘चालु आर्थिक वर्षको ७ महिना पूरा भइसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सीमित छ,’ उनले भने, ‘सुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ।’

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्ने गरी राष्ट्र बैंकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। ‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा चालु आर्थिक वर्षमा ६ खर्व ९३ अर्ब रुपैयाँ पुगिसकेको छ,’ उनले भने, ‘मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्बन गर्न आवश्यक छ।’

प्रकाशित: ६ फागुन २०८० १८:३४ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast