ढोरपाटन उपत्यकामा भारी हिमपात, जनजीवन कष्टकर

हिमाल प्रेस ११ फागुन २०८० ११:२१ | Friday, February 23, 2024
ढोरपाटन उपत्यकामा भारी हिमपात, जनजीवन कष्टकर

बागलुङ- बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो।

हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा स्थानीय वारपारसमेत गर्न सकेका छैनन्। हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले बताए।

हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ। बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन्। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ।

‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो (बिहीबार) दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन’,अदैले भने,‘एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मंसिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ।’

गत मंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो। तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन्।

ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन्। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। हिमपातले जनजीवनमा सामान्य असर परेको उनले बताए।

प्रकाशित: ११ फागुन २०८० ११:२१ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast